केजीकै दुई लाख ५० हजारमा बिक्छ अफिम

|

हेटौंडा : नेपालको विशेषगरी धादिङ र मकवानपुर जिल्लामा बढी मात्रामा गाँजा उत्पादन हुनुका साथै ओसारपसारका गतिविधि पनि बढी हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।

मकवानपुरबाट भारतीय सिमानाका पनि नजिकै जोडिएको हुँदा यहाँ उत्पादन भएका गाँजा ओसारपसार गर्न सहज हुने गर्छ। जसले गर्दा जिल्लाको अति नै विकट राकसिराङ र कैलाश गाउँपालिकामा गाँजाको उत्पादन त हुन्छ।

सँगसँगै त्यहाँका करिब तीन सयजना गाँजा ओसारपसार गरेकै कारण कारागारमा समेत पुगेका छन्। कारागारमा पुगेका अधिकांश गरिवी र भोकमरीको कारण थोरै पैसामा पनि गाँजा ओसारपसार गर्न बाध्य भएको पाइन्छ।

यस्तोमा नेपालमा गाँजालाई वैधानिकता दिने चर्चा चलेको लामो समयपछि ऐन कानुन बनाउने तयारी भइरहेको छ।

दुर्गममा मौलाउँदै अफिम खेती

गाँजालाई औषधि प्रयोजनको रुपमा वैधानिकता दिन आवश्यक ऐन बनाउने सरकारले तयारी गरेको हो। गाँजालाई वैधानिकता दिने प्रयास भइरहँदा नेपालमा सबैभन्दा धेरै गाँजा उत्पादन हुने मध्येमा पहिलो रहेको मकवानपुरमा भने पछिल्लो समय अफिम खेती मौलाउन थालेको छ।

विशेषगरी जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समय अफिम खेती मौलाउन थालेको हो। २-३ वर्ष अघिदेखि सुरु भएको अफिम खेतीले गाँजालाई विस्थापित गर्ने अवस्थामा पुगिसकेको छ। अफिमको मूल्य महँगो र ढुवानी गर्न पनि सहज र सरल हुने भएकाले लागुऔषध तस्करको उक्साहटमा मकवानपुरको राकसिराङ र कैलाश गाउँपालिकाका अधिकांश भागमा अफिम खेती मौलाएको हो।

करिब दुई साताअघि मात्रै पनि लागुऔषध ब्युरो काठमाडौं, बागमती प्रदेश दंगा नियन्त्रण हेटौंडा र जिल्ला प्रहरी कार्यालय हेटौंडाको संयुक्त प्रहरी टोली दुई साताअघि राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजा खेती नष्ट गर्न गएका थिए। तर,गाँजा नष्ट गर्न गएको प्रहरी टोली गाउँमा बढ्दो अफिम खेती देखेपछि अचम्मित भएको छ।

‘गाँजा खेती नष्ट गर्न भनेर गए पनि हामीले सोचेअनुसार गाँजा उत्पादनको अवस्था कम भेटे पनि अफिम खेती नसोचिएको अवस्थामा देखियो। गाँजा खेती गर्नेहरू अफिमतिर लागिसकेका छन्’,गाँजा खेती नष्ट गर्न गएका एक प्रहरीले भने।

७३ बिघा ३६ कट्ठाको अफिम नष्ट

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको तथ्यांकअनुसार प्रहरीले पछिल्लो तीन वर्षयता मकवानपुरमा एकसय ७३ बिघा ३६ कट्ठामा लगाइएको अफिम खेती नष्ट गरेको छ।

प्रहरीले आर्थिक वर्ष ०७६-७७ मा ८९ विगाह ११ कट्ठा ,आव ०७७-७८ मा ४१ बिघा ११ कठ्ठा र ०७८-७९ मा ४३ बिघा १४ कट्ठा जग्गामा लगाएको अफिम खेती नष्ट गरेको छ। करिब ३ वर्ष अघिसम्म गाँजाले जरो गाडेको मकवानपुरको विकटमा अफिम खेती शून्यजस्तै थियो।

सीमित व्यक्तिहरुले कहीँ कतै लगाए पनि व्यवसायिक रुपमा यसको उत्पादन भएको पाइँदैनथ्यो। तर,पछिल्लो ३ वर्षयता यसको उत्पादनमा वृद्धि भएको प्रहरीको भनाइ छ।  प्रहरीका अनुसार ३ वर्षयता ८ जना अफिम ओसारपसार गर्ने क्रममा पक्राउ पनि गरेका छन्।

प्रहरीले आर्थिक वर्ष ०७६-७७ मा ७ किलो २५० ग्राम अफिमसहित ३ जना,०७७-७८ मा १४ किलो ७५० ग्रामसहित ३ जना र चालु आवको हालसम्ममा ७ किलो ७ सय ग्राम अफिमसहित दुईजनालाई पक्राउ गरेको छ। गाँजाको तुलनामा यसको उत्पादन र ओसारपसार कम देखिए पनि आगामी दिनमा यसले भयावह अवस्था लिने देखिन्छ।

गाँजा पाकेर भित्र्याइसके

राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको अफिम तत्काल नियन्त्रण नगरे विकराल रुप लिने प्रहरीको भनाइ छ। यतिबेला कृषकहरूले गाँजा पाकेर भित्र्याइसकेका छन्।

अधिकांशले बिक्री पनि गरिसकेका छन्। तर, अफिम भर्खरै फुल्दै छ। राक्सिराङ गाउँपालिकाको साबिकको खैराङ, राकसिराङ र सरिखेत पलासे गाविसका अधिकांश भाग अफिम खेतीले ढाकेको छ। अफिम खेती गर्न गाँजाको जस्तो ब्याड राख्न पर्दैन।

तोरीजस्तै खेतबारीमा छरेपछि आफैं उम्रने र फूल्ने गर्छ। अफिम खेती गर्न गाँजालाई भन्दा बढी चिस्यान चाहिन्छ। साबिकको राक्सिराङ गाविसमा सबैभन्दा धेरै अफिम खेती गरिएको छ। भदौ अन्तिमदेखि असोज पहिलो सातासम्ममा खेतबारीमा अफिमको बीउ छर्ने गरिन्छ।

प्रतिकेजी दुई लाख ५० हजारमा बिक्छ अफिम

माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म अफिमको फूल फूल्छ। त्यही फूललाई चिरेर चोप निकालेर संकलन गर्ने गरिन्छ। एक कट्ठा खेतबारीमा लगाएको अफिमको बोटबाट एक केजीभन्दा बढी अफिम उत्पादन हुन्छ।

 गतवर्ष अफिम प्रतिकेजी २ लाख ५० हजार रुपैयाँमा बिक्री भएको एक स्थानीयले  बताए। गाँजाको भन्दा कैयौँ गुणा बढी पैसा अफिमबाट आम्दानी हुने भएपछि  विस्तारै गाउँमा अफिम खेती मौलाएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.