|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-१० का विभिन्न खेलमा आबद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको ८५ हजार रकमबाट शुक्लाफाँटा कृष्णसार फाउण्डेसन (एसबिबिएफ)ले फुटबल, क्रिकेट, भलिबलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो। समाजसेवी तेजबहादुर शाहले तीनवटै खेलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका छन्।

खेलकुद सामग्री वितरण गर्दै समाजसेवी शाहले खेलकुदमा क्रियाशील खेलाडीलाई थोरै भएपनि वडा कार्यालयले सहयोग गरी खेलाडीको हौसला बढाएको बताए।  वितरण गरिएका सामग्रीमा ब्याट, ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, टेनिस बल, ड्युज बल, फुटबल नेट, फुटबल, विकेट, भलिबल, भलिबल नेट, क्रिकेट म्याटलगायत रहेको फाउण्डेसनका अध्यक्ष विवेक रावलले बताए।

खेलकुद सामग्री वितरणमा फाउण्डेसनले वडामा रहेका राष्ट्रिय स्तरका खेलकुदमा सहभागिता जनाउँदै आएका क्रिकेट खेलाडीलाई सम्मानपत्र प्रदान गरी सम्मानित समेत गरेको छ। सम्मानित हुनेमा सरोज ऐर, कैलास ऐर, साजन गौतम, सुभेश रावल रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.