|

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ। महासंघले सरकारलाई फागुन २५ सम्म भाडा समायोजन गर्न समय दिएको छ। महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको अनेकौंपटक मूल्य बढ्दा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै अब व्यवसायी आफैँले भाडा बढाउने चेतावनी दिएका हुन।

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारमाथि दबाब दिँदै आएका छन्। महासंघका महासचिव सिटौलाले आइतबार सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएअनुसार भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा समायोजन गर्ने चेतावनी दिए।

सरकार यातायात व्यवसायीको मागको सुनुवाइसमेत नगरेर चुपचाप बसेको तर्क सिटौलाले गरे। सार्वजनिक सवारीसाधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै उनले १० अर्ब लगानी भएको क्षेत्र नै सरकारले समाप्त पार्न खोजेको दाबी गरे। उनले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको मूल्यको अनुपातमा यातायात भाडा बढाउन माग गरे। पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण धेरै व्यवसायीले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको उनले बताए।

‘सरकारले सार्वजनिक सवारीसाधनलाई सहुलियत दिनु पर्‍यो। सरकारले सहुलियत नदिने हो भने सार्वजनिक सवारीले सबै बजारलाई अस्तव्यस्त बनाउँछ। यातायात व्यवसायीको कुरा सरकारले सुनुवाइ गरेकै छैन। सरकार चुपचाप बसेको छ,' उनले भने, 'सार्वजनिक सवारी तल्लो वर्गका जनताले उपयोग गर्ने यातायात हो तर यो क्षेत्र ध्वस्त भएको छ। अनुमानित १० अर्ब लगानी भएको र १२ लाख नेपालीले रोजगारी पाएको क्षेत्र ध्वस्त भएको छ। सरकारले यस्तो क्षेत्रलाई किन ध्वस्त पार्न खोजिएको हो? यसलाई बुझेर सहज वातावरण बनाउन सरकारलाई अनुरोध गर्छु।' 

उनका अनुसार महासंघको बैठकले यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैँले भाडा बढाउने निर्णय गरिसकेको छ। 'यातायात व्यवसायीले फागुन २५ गतेसम्म पछिल्लो समय निरन्तर रुपमा बढेको मूल्य वृद्धि फिर्ता गर्न र विकल्प खोज्न सरकारलाई निवेदन गरेका छौं। सरकारको प्रतिक्रिया आएको छैन। हाम्रो माग सम्बोधन भएन भने २५ गतेसम्मको अल्टिमेटम हुन्छ,' उनले भने, 'सरकारले सुनुवाइ गरेन भने सरकारले बनाएको वैज्ञानिक भाडादरकै ३५ प्रतिशत अर्थात ५ रूपैयाँभन्दा माथि जाने विषयलाई टेकेर वैज्ञानिक ढंगबाट जे सरकारले आँकडा निकालेको छ, त्यही आधारमा भाडा समायोजन गरिन्छ।'

यातायात व्यवसायीले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार आग्रह गरे पनि सरकारले बेवास्ता गरिरहेको आरोप महासचिव सिटौलाको छ। उनले २५ गतेभित्र वैज्ञानिक तवरबाट भाडादर समायोजन नगरे सवारीसाधन चल्न नसक्ने दाबी गरे।

'अहिलेसम्म २५ रूपैयाँ मूल्य वृद्धि भएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै ५ रूपैयाँ कानूनी रुपमा नै भाडा बढ्दै जानुपर्ने हो तर सरकारले बढाएन। अब २५ रूपैयाँको भार बोकेर नेपालभरिका सवारीसाधन चल्न सक्दैनन्। धेरै ठाउँमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण व्यवसायीले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेका छन्,' उनले भने, 'हामीले सबै निकायमा पत्राचार परेका छौं। माग सम्बोधन भएको छैन। २५ गतेसम्म सरकारले हाम्रो माग सम्बोधन नगरे सरकारले तोकेको वैज्ञानिक भाडादरअनुसार आफैँले नयाँ भाडा समायोजन गरेर जान्छौं ।’

पछिल्लो समय डिजल/पेट्रोलको बारम्बार मूल्य वृद्धि हुन थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन्। सरकारले गत बिहीबार मध्यरातदेखि लागू हुने गरि पेट्रोल र डिजलमा ५/५ रूपैयाँ प्रतिलिटर मूल्य बढाएको थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५० रूपैयाँ र डिजेल प्रतिलिटर १ सय ३३ रूपैयाँ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.