|

इटालियन सिरी ‘ए’ मा एसी मिलान पुनः शीर्ष स्थानमा फर्किएको छ। एसी मिलानले नापोलीलाई १-० ले पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किएको हो। जितपछि मिलानको ६० अंक भएको छ। दोस्रो स्थानमा मिलान डर्वीकै अर्को टीम इन्टर मिलान ५८ अंकका साथमा रहेको छ।

मिलानसँग पराजित भएपछि नापोलीको उपाधि होडमा धक्का लागेको छ। तेस्रो स्थानको नापोली मिलानलाई हराउँदै शीर्ष स्थानमा पुग्ने ध्याउनमा रहेको थियो। तर‚ प्रतिस्पर्धात्मक खेलमा ओलिभर जिराउडले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक भएपछि नापोलीको चाहना पूरा भएन।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा एसी मिलानले अग्रता बनायो। ४९ औं मिनेटमा डेभिड कालाब्रियाले दिएको पासलाई जिराउडले गोल गर्दै टिमलाई अग्रता दिलाए। नोपोलीले मिलानविरुद्ध त्यसपछि पनि गोलका केही प्रयास गरे पनि सफल भएन।

जितपछि २८ खेलबाट ६० अंकका साथ एसी मिलान शीर्ष स्थानमा उक्लिँदा एक खेल कम खलेको इन्टर मिलान भने दुई अंकले पछि रहँदै दोस्रो स्थानमा धकेलियो। इन्टरको २७ खेलबाट ५८ अंक छ। तेस्रो स्थानमा पुगेको नापोलीको ५७ अंक छ। युभेन्टस ४७ अंकका साथ चौंथो स्थानमा रहेको छ। आइतवार राति भएको खेलम युभेन्टसले स्पेइजालाई १-० ले पराजित गर्दै अंक तालिका सुधार गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.