पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

|

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गस्थित जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार (आज) बिहान सात बजे लु१ख ८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप-०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो।

ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावल घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो। 

लम्कीचुहाकै स्थानीय रावलको लम्कीमा सामान्य उपचारपश्चात\ थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएकोमा उपचारका क्रममा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

यस्तै, ट्रक र सुर्खेत वराहाताल गाउँपालिका १० बस्ने चालक ३१ वर्षीय बुद्दीराम सुनार प्रहरी नियन्त्रणमा रहेको उनले बताए।

उता, डोटीमा पनि आजै एक बस पल्टिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका १ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो। मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस पल्टिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बस डोटीको घाङ्गलबाट जोशीपुरका लागि गुडेको थियो।

बसमा २२ जना यात्रु सवार थिए। उनीहरुमध्ये दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य रहेको बताइएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

लम्कीचुहा ट्रकको ठक्करबाट टेकबहादुर रावलको मृत्यु भएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका १० स्थित चुहा भन्ने ठाउँमा राजमार्ग अवरुद्ध पारिएको हो।

रावलका आफन्त तथा स्थानीयले ११ बजेदेखि चुहामा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग अवरुद्ध पारिएपछि सवारीसाधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन्।  ट्रकको ठक्करबाट रावलको मृत्युपछि स्थानीय आन्दोलित बनेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.