पैसाको क्षमता कि पासको पहुँच !

|

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा बुधबार मध्यान्हमा निकै भीड थियो। सोही भीडमा काभ्रेपलाञ्चोक घर भएकी ६१ वर्षीया धनमाया तामाङ भेटिइन्। ३ वर्षपछि साउदी अरबबाट नेपाल फर्कँदै गरेको छोरालाई लिनका लागि उनी विमानस्थल आएकी थिइन्। 

विमानस्थलको आगमनतर्फको जस्ताको लामो टहरामा उनी उभिइरहेकी थिइन्। धेरै समय उभिन समस्या भएपछि भित्र कुर्सीमा मानिसहरू बसिरहेकाले उनी पनि त्यतातर्फ लागिन्। तर विमानस्थलका सुरक्षाकर्मीले त्यहाँ कुर्सीमा बस्न टिकट काट्नुपर्ने बताए।

उनले भनिन्, ‘घाममा उभिन नसक्ने भएँ। बस्नलाई पैसा तिर्नु पर्छ रे! टिकटका लागि १ सय रूपियाँ तिर्नुपर्ने रहेछ,' उनले थपिन्, ‘सय भयो भने घर जाने भाडा पुग्छ त्यसैले उभिइरहेकी छु।’  

तामाङ यसअघि पनि विमानस्थल आएकी थिइन् तर यसरी पैसा तिर्नु परेको थिएन। विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले देशको आधा अर्थतन्त्र धानेको छ। तर ती नेपालीले विदेशबाट फर्कंदा विमानस्थलमा लिन आउने उनीहरूका आफन्तले बस्न पनि पाउँदैनन्। 

कतारबाट स्वदेश आउँदै गरेका भाइलाई लिन मकवानपुरका अभिषेक नेपाल विमानस्थल पुगे। अधिकांश मानिस बाहिर जस्ताको टहरामा उभिएको देखेर त्यहीँ पुगेर उभिए। ११ बजे आइपुग्ने भनेको भाइ १२ बजेसम्म पनि आइपुगेनन्। चर्काे घाममा बस्न उनलाई कठिन भयो। भित्र बसौं न त भनेर बुझ्दा भित्र कुर्सीमा बस्न शुल्क तिर्नुपर्ने रहेछ।  

उनले भने, ‘पैसा तिरेर के बस्न जानु अरु सबै बाहिरै छन्, आफूमात्र भित्र गएर बस्न पनि अफ्ठ्यारो हुने रहेछ।’

सरकारले प्रतीक्षालयमा समेत कसेर रकम असुल्न नहुने उनको भनाइ छ। त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलमा करिब ३ महिनादेखि शुल्क लिन थालिएको हो। पछिल्ला केही दिनदेखि सो विषयले चर्चा पाएको छ। करिब ३ महिनादेखि प्रतीक्षालयमा बसेको शुल्क उठाउन थालिएको त्रिभुवन विमानस्थलको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन्। 

विवाद बस्ने र उभिनेको 

विमानस्थलको भित्र अर्थात प्रतीक्षालयमा कुर्सी खाली देखिन्छन्। करिब ६० वटा कुर्सी भएको हलमा २ जना मानिस बसिरहेका थिए। यता बाहिर आगमनतर्फको जस्ताको टहरामुनि लाइनमा बसिरहेका थिए। कुर्सीमा बस्नका लागि पैसा तिर्नुपर्ने रहेछ। त्यसैले घाममा उभिएको  सिन्धुपाल्चोकका रामबहादुर मोक्तानले सुनाए। सरकारले विमानस्थलको प्रतीक्षालयमा शुल्क लिन नहुने उनको भनाइ छ। 

विमानस्थलमा आगमनतर्फ एउटा टिकट काउन्टर छ। जसमा ‘सुपेरियर’ र ‘डिलक्स’ रुम छुट्याएर शुल्क तिर्नेहरूलाई आगमन कक्षको भित्रसम्म जान दिने व्यवस्था छ। प्रतिव्यक्ति सय रूपैयाँ तिर्नेलाई आगमन कक्षको भित्री भागसम्म पुगेर स्वागत गर्न दिइने विमानस्थलका सुरक्षाकर्मीले बताए।

विमानस्थल कार्यालय त्यहाँ हुने सर्वसाधारणको भीड व्यवस्थापनका लागि पनि यो उपाय गरिएको दाबी गर्छ। उनीहरूका अनुसार पहिले 'पास' दिइन्थ्यो। त्यसमा सीमित मानिसको मात्र पहुँच रहेको गुनासो आएकाले अहिले शुल्क लिएर व्यवस्थित गर्ने प्रयास गरिएको हो।

यसअघि पनि सबैलाई भित्रसम्म जाने छुट थिएन र विश्वका कुनै पनि विमानस्थलमा त्यसरी भीड हुने गरी भित्र जान दिइँदैन भन्ने तर्क गर्छ कार्यालय।

विमानस्थल कार्यालय भन्छ- व्यवस्थापन प्रयास

आगमन क्षेत्रको व्यवस्थापन गरिरहेको आइएमएस एयरपोर्ट सर्भिस कम्पनीले व्यावसायीक ढंगमा अगाडि बढ्न पाउने उनको भनाइ छ। ‘व्यवसायीले सित्तैंमा काम गर्दैन। त्यो स्वाभाविक हो। यसमा विरोध गर्नु पर्ने कारण नै छैन। कसैले सफा कक्षमा बस्छ भने न्युनतम शुल्क तिर्नुपर्छ,' कार्यालय प्रमुख ठाकुरले थपे, ‘धेरैले गुनासो गरेको सुन्छु, यो स्वाभाविक हो।’

७ कात्तिक २०६९ मा साविक रसुवा के डी जेभी सँग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक करिब ७० लाख रूपैयाँ भाडा लिने गरी ३० वर्षका लागि जग्गा भाडामा लगाउने सम्झौता गरेको थियो। अहिले आगमन तर्फको भागमा पनि कम्पनीले पूर्वाधार बनाएर शुल्क निर्धारण गरेको हो।

व्यवस्थापन कम्पनीका प्रमुख कार्यकारी अधिकृत चारु श्रेष्ठले ' आफूले असुविधा होइन सुविधाका लागि काम गरिरहेको र लिइएको शुल्कले सबै खर्च समेत नधान्ने ' बताउदै विमानस्थल सबै निकायसँगको समन्वयमा काम गरिएको बताइन। श्रेष्ठको तर्क छ- 'पार्कमा पस्न त व्यवस्थापनका लागि शुल्क लिइन्छ भने विमानस्थल सुरक्षा, व्यक्तिगत तथा आवश्यक सुविधाका लागि गरिएको यो व्यवस्था अनुचित होइन।'

बाहिर उभिनेको सुविधा पनि हेरिने

सरकारले विमानस्थलमा आफन्त लिनका लागि आउने व्यक्तिले भित्रै पसेर बस्ने हो भने पैसा तिर्नुपर्ने व्यवस्था गरिएको त्रिभुवन विमानस्थलको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए।

'पैसा तिर्छु भन्नेलाई भित्र पसेर बस्ने व्यवस्था छ। बाहिर अरुलाई उभिने ठाउँ छ। बाहिर उभिने असहज भएको गुनासो ध्यानमा राखेर त्यसलाई अझ व्यवस्थित र सहज बनाउनेतर्फ निरन्तर सोचाइ भइरहेको छ। हामी सकेसम्म सबैलाई सुविधा होस् भन्ने चाहन्छौं,' उनले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.