|

पर्वत : पर्वतमा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह छन्। सबै स्थानीय तहमा प्रमुखमा पुरुष र उपप्रमुखमा महिला छन्। पाँच वर्ष अगाडि भएको स्थानीय तहको निर्वाचन हेर्दा यदाकदाबाहेक प्रमुखमा पुरुष बसेर महिलालाई उपमा मात्रै राखेको देखिन्छ।

पर्वतको कुश्मा नगरपालिकामा पनि उपप्रमुखमा नेपाली कांग्रेसबाट ता काफ्ले लामिछाने विजयी भएकी थिइन्। पाँच वर्षको अवधि उपप्रमुखमा बिताउँदा उनले भोगेका चुनौती र भावी योजनाका विषयमा थाहाकर्मी संजय रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :

उपमेयर भएर पाँच वर्ष काम गर्नुभयो सोचेका काम कति  पूरा भ, कति बाँकी छन्?

हामीले यो अवधिमा जे जति काम गर्नुपर्ने थियो ती सबै कुराहरू पूरा भएका छैनन्। संघीयतामा गएको पहिलो अनुभूति गर्ने मौका हामीले पायौँ, जसमा सुरुका केही समयमा देशैभरि सिकाइको अवस्था रह्यो भन्दा अन्यथा नहोला सायद।

जब कामको मेसो आएको थियो त्यही बेलामा पदावधि पनि सकियो। अबका जनप्रतिनिधिहरूलाई काम रफ्तारमा लैजान समस्या नहोला। तर, हाम्रो अवधिमा सिकाइ र संविधान कार्यान्वयन नै महत्त्वपूर्ण रहँदा सोचेका सबै कामहरू पूरा भएका छैनन्। तर यो अवधिमा मैले जति कार्यसम्पादन गरेँ ती उपलब्धिमूलक छन् भन्ने लाग्छ।

यो अवधिमा तपाईका विशेष अनुभव र उपलब्धि केके छन् त?

त्यस्तो विशेष खालको अनुभव त रहेनन् तर यो अवधिमा हामी कोभिड–१९ को महामारी चलिरहेको बेलामा जनप्रतिनिधिहरुको सक्रियता भुल्नै नसकिने छ। स्थानीय तहहरूले जनताको नजिक रहेर नागरिकमैत्री वातावरण निर्माण गर्नका लागि जुन योगदान दिनुभयो त्यो विशेष अनुभव र स्मरणीय छ भन्ने मलाई लाग्छ।

चुनावको मिति नजिकिँदै छ अबको योजना के बनाउनु  भएको छ?

यो पाँच वर्षको अवधिमा नगरपालिकाले सम्पादन गर्नुपर्ने काम, नागरिकका गुनासा र चाहनाका बारेमा धेरै कुराहरू बुझ्न पाएकी छु। जसले आगामी कार्यकालमा मलाई मेयर पदमा लड्नका लागि धेरै कुराहरू सिकाएका छन्। मैले उपमेयरको रूपमा जति काम गरेको छु, त्यसलाई पूर्णता दिनको लागि मेयर पदमा पुग्नुपर्छ। मेरो उम्मेदवारी मेयरमा नै रहन्छ।

तर, अघिल्लो निर्वाचनको ट्रेन्ड हेर्दा प्रमुखमा पुरुष र उपमा महिला पो छ त?

महिला उपमेयरमा नै बस्नुपर्छ वा मेयरमा जानै हुँदैन भन्ने व्यवस्था संविधानमा छैन। प्रमुख वा उपप्रमुखमध्येका कुनै एक पदमा महिला हुनुपर्छ भनेको हो। २०७४ को निर्वाचनमा धेरै महिलाहरू उपप्रमुखको रूपमा रहनुभयो, त्यसको अर्थ अहिले पनि त्यही नै भइरहनुपर्छ भन्ने होइन। महिलालाई अझै पनि जिम्मेवारी सम्हाल्न नसक्ने वा कमजोर रूपमा किन हेरिन्छ?

यहाँको सोच नै कस्तो देखिन्छ भने महिलाका लागि उपमेयर र पुरुषका लागि मेयर पद जन्मजात भएको जस्तो। तर, के महिलाहरू उपमेयरभन्दा माथि जानै नहुने हो? महिलाका पक्षमा नीति रहेको भन्दै भाषण गर्ने दलहरूले महिलालाई पनि स्थानीय तहको नेतृत्व गर्ने अवसर दिनुपर्छ।

यदि तपाईंलाई पार्टीले टिकट दिएन भने के गर्नुहुन्छ?

जहाँसम्म लाग्छ पार्टीले टिकटमा मलाई रोज्छ भन्नेमा विश्‍वस्त छु। उपमेयरको रूपमा काम गर्दा जनताको घर घरमा पुगेकी छु, उहाँहरूको योजनाको अवस्था के छ? के के काम अधुरा रहेका छन्? भन्ने बारेमा म जानकार छु। हामीले लामो समयसम्म सामाजिक र राजनीतिक रूपमा सक्रिय रहेर सेवा पनि गरेका छौँ। पार्टीले टिकट नै दिएन भने के गर्ने? भन्नेमा त के जवाफ हुन्छ र? विश्वास गरेमा लड्नको लागि तयार छु, टिकट नपाए पनि राजनीतिक रूपमा सक्रिय रहन्छु।

टिकट पा विजयी हुने आधारहरू के के देख्नुभएको छ?

विजयी हुने आधारहरू प्रशस्त छन्। यो पाँच वर्ष जनताको दैलोमा हरबखत पुगेर उहाँहरूको कुरा पनि मैले सुनेकी छु। योजना निर्माण गरेर काम गर्दा गर्दै पनि सबै योजनाहरू पूरा भएका छैनन्। ती योजना पूरा गर्नको लागि मेयरमा पदमा पुग्नुपर्छ। अझै थप खुड्किलोमा पुगेर नयाँ मोड्युलहरु पनि नागरिकको माझमा प्रस्तुत गर्नेछु। मैले गरेका कामहरू जनताको मनमा बसेका छन् भन्ने लागेको छु। यो पाँच वर्षको अवधिले मलाई सिकाएको छ, अबको पाँच वर्षमा पूर्णता हुन्छ।

उपमेयरमा रहेर गरेका कामहरूको मूल्याङ्कन जनताले गर्नुभएको छ,त्यसैको आधारमा विश्वास गर्नुहुन्छ भन्ने लाग्छ।

तर चुनाव जित्न विचारभन्दा पैसा चाहिन्छ भन्ने छ नि!

कता कता विकृति त आएको छ नै। यो समस्या सबै राजनीतिक दलहरूमा रहेको छ। चुनाव खर्चिलो हुने, खानपिनमा जोड दिने, उम्मेदवारको एजेन्डाको बारेमा भन्दा पनि होहल्लाको पछाडि लाग्ने पनि समस्याका रूपमा रहेको छ। आफ्नो ठाउँलाई बनाउन खोज्ने भने उम्मेदवारका योजना र विचारलाई हेरेर मत दिनुपर्छ। हामी हाम्रो ठाउँ बनेन भन्छौँ, मत दिने बेलामा एजेन्डा सम्झिँदैनौँ।

विकृत मानसिकता राखेर मतदान गरेपछि सुसंस्कृत समाज निर्माण गर्ने मान्छे पाउने कसरी? अब मतदाताले समाजको विकासको लागि स्पष्ट धारणा ल्याउने व्यक्तिलाई साथ दिनुपर्छ। सामाजिक सेवा भाव भएको उम्मेदवार छनोट गर्न मतदाता तयार हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.