|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको उपमेयर कप टी-२० महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

समूह चरणका अन्तिम दुई खेलबाट आज दशरथचन्द नगरपालिका-२ देहिमाडौं र दशरथचन्द नगरपालिका-८ त्रिपुरा अन्तिम ४ मा पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। यसअघि दशरथचन्द नगरपालिका-६ थालिगडा र दशरथचन्द नगरपालिका-९ ग्वाल्लेक सेमिफाइनल पुगिसकेका छन्।

देहिमाडौंले आज सम्पन्न खेलमा दशरथचन्द नगरपालिका-११ नागार्जुनलाई ६४ रनले पराजित गर्‍यो। देहिमाडौंले दिएको १ सय ५१ रनको लक्ष्य पन्छाएको नागार्जुन २० ओभरमा ८६ रनमा समेटियो। जसमा पशुपति भण्डारीले सर्वाधिक २४ रन बनाए पनि टोलीलाई जिताउन सकिनन्। देहिमाडौंकी निर्मला बोहराले ३, बबिता बोहरा, मनिषा बोहरा र आरती बोहराले २/२ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको देहिमाडौंले मनिषा बोहराको ७० रनको मद्दतमा १ सय ५० रन बनायो। नागार्जुनका कमला पुजारा, जानकी भण्डारी र मानमती चन्दले २/२ विकेट हात पारे। खेलमा उमन अफ द म्याच देहिमाडौंकी मनिषा बोहरा भइन्।

अर्को खेलमा दशरथचन्द नगरपालिका-४ खलंगालाई ५ विकेटले पाखा लगाउँदै त्रिपुरा पनि सेमिफाइनलमा पुगेको छ। खलंगाले दिएको १ सय १९ रनको लक्ष्य त्रिपुराले ११ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि जानवी मौनीले सर्वाधिक ३४ रन जोडिन्। खलंगाकी बबिता बोहराले ३ तथा मन्जिला भट्टले २ विकेट झारे।

निंग्लाशैनी खेलमैदानमा पहिला ब्याटिङ गरेको खलंगाले गरिमा भट्टको ५१ रनको मद्दतमा १ सय १८ रन बनाएको थियो। त्रिपुराकी जानवी मौनीले ४ विकेट हात पारिन्। उनी उमन अफ द म्याच चुनिइन्। 

प्रतियोगिताअन्तर्गत भोलि सेमिफाइनल खेल हुनेछन्। पहिलो सेमिफाइनलमा देहिमाडौं र ग्वाल्लेक तथा दोस्रोमा थालिगडा र त्रिपुराबीच भिडन्त हुने दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा चैत ५ गते शुरु भएको प्रतियोगितामा ७ टोलीको सहभागिता छ। उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.