|

आइसिसी एकदिवसीय महिला विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ। वेस्ट इन्डिजविरुद्ध बिहीबारका लागि तय भएको खेल वर्षाले स्थगित भएपछि दक्षिण अफ्रिकाले अन्तिम चारमा स्थान पक्का गर्दा वेस्ट इन्डिजको सम्भावना भने अन्य टोलीको नतिजामा पुगेको छ।

वेलिङटनमा भएको स्पर्धामा खेल अघि र खेलका वेला पनि वर्षा भएपछि खेल रद्द गर्दै दुबै टोलीलाई १-१ अंक बाँडिएको थियो। वर्षाका कारण २६ ओभरमा छोट्याइएको खेलमा १०.५ ओभरको खेल चल्दै गर्दा पुनः वर्षा भएपछि खेल रद्द गरिएको हो।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १०.५ ओभरमा ४ विकेट गुमाएर ६१ रन जोडेपछि पुनः वर्षा सुरु भएको थियो। त्यसपछि पुनः खेल हुन नसक्दा वेस्ट इन्डिजले प्रतियोगिताको समूह चरणमा निराशाजनक अंक बाँड्न बाध्य हुनु पर्‍यो।

अब वेस्ट इन्डिजको अन्तिम चारका लागि भने इङल्यान्ड र भारतमध्ये कुनै एक टोलीको पराजय कुर्नुपर्ने छ। यसअघि अष्ट्रेलियाले ६ खेलमा ६ जित निकाल्दै १२ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरेको थियो। दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने दोस्रो टोली हो।​

नतिजाविहीन बनेपछि अंक तालिकामा दक्षिण अफ्रिका ६ खेलबाट ४ जित १ हार र १ नो रिजल्टपछि ९ अंक बनाएर दोस्रो स्थानमा रहेको छ। त्यस्तै तेस्रो स्थानको वेस्ट इन्डिजको ७ खेलबाट ३ जित र ३ हार तथा एक नतिजाविहीन अवस्थापछि ७ अंक रहेर तेस्रो स्थानमा रहेको छ। समान ६ खेलबाट इङल्यान्ड र भारत ६-६ अंकका साथ चौथो र पाँचौं स्थानमा रहेका छन्।

अब अन्तिम खेलमा इङल्यान्डले बंगलादेशसँग प्रतिस्पर्धा गर्दा भारतले दक्षिण अफ्रिकाको सामना गर्दै छ। दुबै टोलीले जित निकालेमा वेस्ट इन्डिज बाहिरिनेछ। तर दुईमध्ये एक टोली पराजित भए वेस्ट इन्डिजले अन्तिम चारमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.