|

संखुवासभा : पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दा २५ परिवारलाई लालपूर्जा हस्तान्तरण गरिएको छ। गाउँपालिकाले चित्रेमा जग्गा खरिद गरी त्यसको लालपूर्जा प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।

२०७७ असार २७ गते राति पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए। तीमध्ये बेसिन्दाका २५ परिवारलाई लालपूर्जा वितरण गरिएको अध्यक्ष कुलुङले बताए। पहिरोबाट विस्थापित अन्यलाई पनि जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

जिल्ला विपत व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेसँगै सिलिचोङ गाउँपालिकाभित्र नै बस्न चाहने ३७ घर परिवारका लागि प्रक्रिया अगाडि बढाइएको हो। २५ घरका लागि प्रतिरोपनी १ लाख २२ हजार ६४२ रुपैयाँमा ५३ रोपनी खरिद गरिएको गाउँपालिका अध्यक्ष कुलुङले जानकारी दिए। बाँकी १२ घरको लागि बखल्टुम गाउँमा प्रतिरोपनी २ लाखका दरले १७ रोपनी खरिद गरी हस्तान्तरण गरिरहेको हो।

पहिरोबाट विस्थापित ५५ परिवारलाई खाँदबारी नगरपालिका समेत ल्याउने तयारी भइरहेको उनको भनाइ छ। त्यसका लागि जग्गा खोजविन समिति गठन प्रकृया बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.