|

काठमाडौं : साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ४० अंकभन्दा बढीले गिरावट आएको छ।

पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक आइतबार ४१.४३ अंक घटेर २ हजार ५७२.२३ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका २३२ कम्पनीको  ८९ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बीमाबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। आइतबार लगानीकर्ताहरु बीमा कम्पनीहरुतर्फ आकर्षित भएको देखिएका छन्। गत साता बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेसँगै बीमा कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको हो।

आइतबार निर्जीवन बीमा उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ। तर  अन्य उपसमूहको परिसूचक ४.३६ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक, व्यापार, होटल तथा पर्यटन, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कारोबारमा आएका तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा जीवन विकास लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेका छन्। तर यता मल्टीपर्पस फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा २७ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अपि पावर शीर्ष स्थानमा रहेको छ। गुराँस लाइफ इन्स्योरेन्सको साँढे १७ करोडको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.