|
फाइल तस्वीर

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित भएको थियो। प्रतिकूल मौसमका कारण बुद्ध एयरले तुम्लिङटारका २ उडान रद्द गर्नुपरेको र बाँकी सबै ठाउँमा साँझ अबेरसम्म उडान भएको कम्पनीले जनाएको छ।

'कम भिजिबिलिटीले विमानस्थल आइएफआर अप्रेसन सञ्चालनमा जानेबित्तिकै उडान प्रभावित हुन्छ। डिले उडान राति अबेरसम्म सम्पन्न भए,' बुद्ध एयरका सूचना अधिकारी कर्णले भने। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौँ उपत्यकाको आकाश आज दिनभरिजसो नै बदली रह्यो।
अझै केही दिन उडान प्रभावित हुनसक्ने आँकलन गरी हवाई सेवा प्रदायक कम्पनीले यात्रुलाई समयमै सूचना दिने प्रयास गरेको जनाएका छन्।

एसएमएस, मोबाइल एप, सामाजिक सञ्जालमार्फत यात्रुलाई समयमै सूचित गरिँदै आएको बुद्ध एयरका सूचना अधिकारी कर्णले दाबी गरे। यात्रुले टिकट काट्दा सही सम्पर्क नम्बर राखेमा सम्बन्धित यात्रुलाई मोबाइलमै सूचना जाने कम्पनीले दाबी गरेको छ। यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान पनि सामान्य प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.