उम्मेदवारका आकांक्षी बढ्दै,दोहिरने दाउमा महत र लामा

|

हेटौंडा : स्थानीय तहको निर्वाचन भएको आगामी वैशाख ३१ गते ५ वर्ष पूरा हुँदै छ। २०७४ सालको निर्वाचनबाट चुनिएका वर्तमान जनप्रतिनीधि पदमुक्त हुने समय नजिकिएको छ।

नयाँ जनप्रतिनीधि चयन गर्न आगामी वैशाख ३० गते पुनः स्थानीय तहको निर्वाचन हुँदै छ।

निर्वाचनको मिति नजिकिएसँगै यतिबेला देशको ७५३ वटै स्थानीय तहमा चुनावी गतिविधि बढिरहेको छ। हेटौंडामा पनि चुनावी सरगर्मी बढेको छ।

बागमती प्रदेशको ११९ वटा स्थानीय तहमध्येको एक मात्रै उपमहानगर हेटौंडामा राजनीतिक चहलपहल बढेको हो। उपमहानगरको पछिल्लो ५ वर्षको विकास क्रमलाई लिएर सबैले आ–आफ्नै तर्क गरिरहेका छन्।

दुवैको दोहोरिने दाउ

उपमहानगरको मेयरमा एक दर्जन व्यक्तिहरू आकांक्षी देखिएका छन्। वडाध्यक्षदेखि संविधानसभा सदस्यसम्मले हेटौंडाको मेयरमा उम्मेदवारी दिन आ–आफ्नो पार्टीभित्र लविङ गरिरहेका छन्।

तीमध्ये उपमहानगरको वर्तमान मेयर हरिबहादुर महत पुनः दोहोरिन चाहन्छन् भने उपमेयर मीना लामा एक स्टेप अगाडि बढ्दै उपमहानगरको प्रमुख पद सम्हाल्न चाहन्छिन्।

हेटौंडाको प्रमुखमा वर्तमान नेतृत्वले नै दोहोरिन चाहिरहँदा पछिल्लो ५ वर्षमा हेटौंडामा केके भयो? उपमहानगरमा कस्तो कुराले प्राथमिकता पाए? घोषणापत्रमा उल्लेख भएको कुरा पूरा भए?  भन्ने कुरा सबैको चासोको विषय बनेको छ।  

२०७४ लाई फर्केर हेर्दा

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट हेटौंडा उपमहानगरपालिकामा प्रमुख-उपप्रमुख दुवैमा एमालेले जित हातपार्‍यो। नेपाली कांग्रेस र माओवादीको गठबन्धनको उम्मेदवारलाई हराउँदै दुवै पदमा एमालेले बाजी मारेको थियो।

एमालेबाट उपमहानगरको प्रमुखमा हरिबहादुर महत र उपमेयरमा मीना लामा विजयी भएकी थिइन्। उपमहानगरको प्रमुख उपप्रमुखसँगै एमालेका उम्मेदवारहरूले हेटौंडाको १९ वडामध्ये १२ वटा वडा अध्यक्ष पदमा जित हात पारेका थिए।

हेटौंडाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई हराउँदै एमालेका महतले चुनाव जित्दा उपमेयरमा एमालेकी लामाले माओवादी केन्द्रको उम्मेदवारलाई पराजय गरेकि थिइन्।

२०४९ र २०५४ सालको स्थानीय चुनावमा २ पटक तत्कालीन हेटौंडा नगरपालिकाको उपमेयर निर्वाचित भएका महत २०७४ सालको स्थानीय चुनावमा कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारलाई हराएर एमालेबाट निर्वाचित भएका थिए।

भौतिक पूर्वाधारमा विकास

एमालेको नेतृत्व गर्दै हेटौंडा उपमहानगरको जिम्मेवारी सम्हालेका मेयर महतले आफ्नो ५ वर्षको कार्यकालमा भौतिक पूर्वाधारमा देखिनेगरी विकास गरेका छन्।

नेपालमा विकासको लागि निकै महत्वपूर्ण मानिने सडक निर्माणमा मेयर महतको सक्रियता बढी देखिएको हो। उपमहानगरको ५ वर्षको विकास कार्यलाई हेर्दा सबैभन्दा धेरै विकास सडकले नै पाएको छ।

मेयर महतले सडक निर्माणको योजना माग गर्दा सहजै स्वीकृतसमेत गर्दै आएका छन्।  उनको नेतृत्वमा हेटौंडाको एक हजार ४८ स्थानका सडक स्तरोन्नति गर्दै एक सय २८ किलोमिटर कच्ची सडक स्तरोन्नति तथा स्ल्याव ढलानको काम भएको छ।

उपमहानगरले सडक निर्माण कार्यको लागि मात्रै ५ वर्षको अवधिमा एक अर्ब २२ करोड ५७ लाख ३४ हजार रुपैयाँ खर्च गरेको जनाएको छ।

उपमहानगरबासीले २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनबाट महसुस गर्न पाएको विकास भनेको सडक निर्माण मात्रै हो। तीबाहेक मेयर महतको नेतृत्वमा खेल क्षेत्रमा केही काम भएका छन्। पहिल्यैदेखि खेलप्रेमीको रुपमा चिनिने महतले आफ्नो कार्यकालमा पिप्ले क्याम्पा रंगशाला निर्माणको लागि पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडि सुशील घिमिरेलाई राम्रो साथ दिए।

त्यस्तैगरी, उनले विभिन्न सामाजिक संघ संस्थाको भवन निर्माण, कभर्ड हल निर्माण जस्ता कार्यमा पनि उपमहानगरको तर्फबाट आर्थिक सहायता गरे।

उनको नेतृत्वमा हेटौंडा उपमहानगरको १९ वटै वडामा स्वास्थ्यचौकी भवन बनेका छन्। यीबाहेक उनको नेतृत्वमा ठूला भौतिक पूर्वाधार निर्माण कार्य भएको भने पाइँदैन। उनले गरेको सडक निर्माण कार्य, रंगशाला निर्माणमा सहयोग र स्वास्थ्यचौकी भवन निर्माण नै उनको ५ वर्ष अवधिको मुख्य उपलब्धि हुन्।

स्वास्थ्यमा क्षेत्रमा भएको पहल

हेटौंडामा स्वास्थ्य सेवा सधैँ कमजोर अवस्थामा रहँदै आएको छ। यसको सुधारको लागि मेयर महतले ठूला परिवर्तन गर्न नसके पनि केही प्रयास भने गरेका छन्।

उनको पहलमा मकवानपुरको एक मात्र सरकारी अस्पतालमा अक्सिजन प्लान्ट जडान हुनुको साथै डायलासिस मेसिन पनि जडान गरिएको छ। हेटौंडामा अक्सिजन प्लान्ट र डायलासिस मेसिन नहुँदा अन्य जिल्लाको भर पर्दै आउनु परेको थियो।

कोरोना महामारीमा हेटौंडामा अक्सिजनको हाहाकार भएसँगै उनले उपमहानगरले अक्सिजन उत्पादन गर्ने प्लान्ट जडानको पहल गरे।

उनले उपमहानगरबाट प्लान्ट खरिल गरि जडान गर्न बजेटसमेत विनियोजन गरेका थिए। तर,उनको पहलमा पछि घरजग्गा व्यवसायीले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्यो।

मेयर महतले यसलाई आफ्नै उपलब्धि मान्दै आएका छन्। त्यस्तैगरी, उनले अस्पतालमा उपमहानगरबाट डायलासिस मेसिनको व्यवस्था गरे।

उनकै पहलमा अन्य सामाजिक संघ सस्ंथाले पनि अस्पताललाई उक्त मेसिन दिएपछि डायलासिस गर्न चितवन पुग्नुपर्ने बाध्यता हटेको छ। हेटौंडाको स्वास्थ्य सेवामा सुधार गर्न उनले ठूलो काम नगरे पनि केही पहल भने गरेका छन्।

चुनावी घोषणापत्र एकातिर, कुम्लो बोकी ठिमीतिर!

२०७४ को स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले हेटौंडाका विभिन्न क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र बनाएको थियो। एमालेले त्यतिबेला हेटौंडाको मेयरमा महत र उपमेयरमा लामालाई उम्मेदवार बनाएको थियो।

दुवै पदमा एमालेको उम्मेदवार विजयी भए। तर, नेकपा एमालेको विभाजनपछि उपमेयर लामा भने नेकपा एकीकृत समाजवादीतर्फ लागेकी छिन्।  

एमालेले हेटौंडा उपमहानगरको विकासको लागि चुनावका बेला घोषणापत्रमा थुप्रै योजनाहरू समेटेको थियो। हेटौंडालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने, युवाहरूलाई स्वरोजगार बनाउने,हेटौंडाको सडकलाई फराकिलो बनाउने, बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान, हेटौंडाका विभिन्न क्षेत्र समेटेर चक्रपथ निर्माणको

योजना, कर्रा कोरिडोर निर्माण, अत्याधुनिक बस स्टेशन तथा टर्मिनल भवन निर्माण, सुविधा सम्पन्न सपिङ कम्प्लेक्स तथा सभागृह निर्माण, कृषि प्रयोगशाला स्थापना, सिंचाई प्रणालीमा सुधार गर्दै डिप बोरिङ, लिफ्ट प्रणालीको विकास, नियमित पशु स्वास्थ्य शिविर, कृषि प्रदर्शनी, कृषि बजारीकरण तथा भण्डारणको व्यवस्था, पशु तथा बाली बिमा गर्ने, रासायनिक मलको उचित व्यवस्थापन, कृषि उपज थोक बजार निर्माणका योजनालाई घोषणा पत्रमा राख्दै मेयरमा महतले उम्मेदवारी दिएका थिए।

उनको घोषणापत्रमा विकास निर्माणका लागि आवश्यक जनशक्तिको व्यवस्थापनका लागि नीजि क्षेत्रसँगको सहकार्यमा प्राविधिक शिक्षालयको स्थापना र युवालाई रोजगारीको अवसर प्रदान, नगर क्षेत्रका सार्वजनिक अतिक्रमित जमिनलाई  छुट्याइने, सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने जस्ता धेरै कुरा उल्लेख गरिएको थियो।

५ वर्षको अवधिमा हेटौंडामा केही विकासका काम भए पनि एमालेले जारी गरेको घोषणापत्र भने अलपत्र परेको छ। एमालेले बनाएको घोषणापत्रको आडमा चुनाव जितेका मेयर महत र उपमेयर लामाले घोषणापत्रमा गरेको घोषणालाई कागजमै सीमित राखे।

उनीहरूको घोषणापत्रअनुसार काम भएको भए हेटौंडामा विकासको क्षेत्रमा कायापलट हुने थियो। तर, ५ वर्षे कार्यकालको अन्त्यसम्म आइपुग्दा पनि घोषणापत्र अनुसारका काम भने हुन सकेनन्। विकासका नाममा केही भित्री सडकमा स्ल्याव ढलान भएका छन् तर, सेवा प्रवाह, ठूला योजना, रोजगारीको अवस्था र जनताले स्वास्थ्य सुरक्षाको अनुभूति हुने गरी काम हुन सकेको छैन।

जनताको आर्थिक तथा सामाजिक विकासमा पनि उनीहरूको ५ वर्षको कार्यकालले छुन सकेन। घोषणा पत्रमा रोजगारीको अवसर सिर्जना, आर्थिक समृद्धि, बृहत योजनाको कार्यान्वयन जस्ता विषय समेटिएको थियो। तर, ५ वर्षसम्म आफ्नै घोषणापत्रमा समेटिएका योजनामासमेत काम गर्न नसक्दा चुनावी घोषणापत्र कागजमै सीमित बनेको हो।

उनीहरूको घोषणापत्रमा महत्वका साथ उल्लेख गरिएको हेटौंडाको सडक फराकिलो बनाउने कार्य पनि हुन सकेन। हेटौंडामा लामो समयदेखि विवादमा रहेको सडक विस्तारको काम उनीहरूको कार्यकालमा पनि हुन नसकेको हो।

५ वर्षको अवधिमा हेटौंडाको सडकलाई फराकिलो बनाउन विभिन्न निकायबाट पहल भए पनि सफल हुन सकेन। हेटौंडाको सडकलाई विस्तार गरेर फराकिलो बनाउन नसक्दा बढ्दो सवारी चाँपले हेटौंडालाई नै कुरुप बनाउँदै लगेको छ।

त्यस्तै, कर्रा कोरिडोर निर्माण, चक्रपथ निर्माण, सभाहल निर्माण, पार्किङ तथा ट्राफिक व्यवस्थापन, बहुउद्देश्यीय व्यापारिक भवन, बसपार्कको टर्मिनल भवन निर्माणलगायत योजनाहरू हालै सुरु भएका छन्।

५ वर्षको कार्यकालमा ती योजनाहरू सम्पन्न हुनेपर्ने थियो। तर, समयमै काम सुरु नगर्न ती योजनाहरू कार्यकालको अन्तिम समयमा शिलान्यास तथा सुरुवात गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.