|

हेटौंडा : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर एमालेविरुद्ध पाँचदलीय गठबन्धन एकजुट हुने भएको छ।

सत्ताधारी पाँच दलमा स्थानीय तहको आगामी निर्वाचनमा एमालेविरुद्ध एकजुट भएर अघि बढ्ने सहमति शुक्रबार भएको हो। मकवानपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति बनेको छ।

दलहरूको संयुक्त बैठकपश्चात पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जिल्लाको १० वटै पालिकाको वडास्तरसम्म पाँच दलबीच गठबन्धन हुने जानकारी दिए। उनका अनुसार जिल्लामा रहेको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, ८ वटा गाउँपालिका र सबै पालिकाभित्र रहेका १ सय २ वटै वडामा गठबन्धन गरेर जाने सहमति बनेको बताए।

गठबन्धनलाई बलियो बनाउन कांग्रेसको संयोजकत्वमा निर्वाचन कमिटीसमेत गठन गरिएको लामाको भनाइ छ। त्यसैगरि कांग्रेसको नेतृत्वमा पाँचवटै दलका अध्यक्षहरू सदस्य रहने गरि सचिवालय पनि बनाइने निर्णय भएको उनले बताए।

जिल्लाको सचिवालयमा नेकपा माओवादी केन्द्रका सर्केश घलान, नेकपा (एकीकृत समाजवादी) का श्रीधर पोखरेल, जनता समाजवादी पार्टीका सोनामसिं स्याङ्तान र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी रहनेछन्। यसै प्रकृतिको सचिवालय स्थानीय तह र वडासम्मै निर्माण हुनेछ।

बैठकले स्थानीय तह र वडासम्मै गठबन्धनको संयन्त्र निर्माण गर्न आवश्यक बैठक बस्नसमेत पार्टीको तल्लो संरचनालाई निर्देशन दिएको छ। सभापति लामाले मकवानपुरमा गठबन्धनको आवश्यकता रहेको सबै दलले महसुश गरेकोले सोहीअनुसार अघि बढ्ने निर्णय भएको बताए।

उनले गठबन्धन गर्ने निर्णय भएपनि भागबण्डाको विषयमा भने छलफल नभएको बताए। ‘उम्मेदवारको विषय अहिले टुंगो लागेको छैन। प्रारम्भिक छलफल भएको हो। केन्द्रीय निर्देशनअनुसार हामी अगाडि बढ्नेछौं’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.