|

मेलम्ची खानेपानी आयोजना सुरू भएको दुई दशकपछि गत चैतमा काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिएको थियो। जसले उपत्यकाको वर्षौंदेखि हुँदै आएको पानीको हाहाकार केही हदसम्म व्यवस्थापन भएको थियो।

तर, गत असार र साउनमा मेलम्ची र इन्द्रावती खोलामा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। जसका कारण पानी आउन अवरूद्ध भएको छ। मेलम्ची पानी नआएपछि उपत्यकामा पुनः पानीको समस्या दोहोरिएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार अहिले उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर छ। तर, बोरिङ, कुवालगायत स्रोतबाट दैनिक १० देखि ११ करोड लिटर मात्र पानी आपूर्ति भएको छ।

बाढीले क्षति गरेको मेलम्चीबाट उपत्यकामा पुनः पानी आउँछ? अहिले मर्मतसम्भावरको काम कति सकियो? मेलम्चीको पानी अस्थायी कि स्थायी रूपमा आउँछ? यही सेरोफेरोमा थाहाखबरकर्मी श्याम राईले मेलम्ची खानेपानी विकास समितिका प्रमुख वासुदेव पौड्यालसँग गरिएको कुराकानीको सम्पादित अंश :

बाढीले क्षति गरेको मेलम्ची खानेपानी आयोजनाको मर्मतसम्भारको काम कति सकियो?

नयाँ काम भएको भए यति समयमा सकिन्छ वा सकियो भन्न सकिन्थ्यो। तर, यो मर्मतसम्भारको काम भएकाले ठ्याक्कै यति प्रतिशत सकियो भन्न सकिँदैन। मर्मतसम्भारको काम भइरहेको छ। डाइभर्सनको मुख खोल्ने काम सम्पन्न गरेका छौँ।

गेट नम्बर ९ छ। जसले पानी पठाउन टनेललाई सहयोग गर्छ। त्यसको गेटको मर्मत गरिरहेका छौँ। मुख्य टनेल छिर्ने ठाउँको पाइप सफा गर्ने काम गरेका छौँ। पहिला नै ६ किलोमिटर टनेलमा पानी भरिएको थियो। त्यसको लेदो हटाउनेलगायत काम भइरहेको छ। १७ नम्बर गेट अगाडिको टनेलको दुई किमी माटो निकाल्ने काम भइरहेको छ। जहाँ समस्या देखिएको छ, त्यसको समस्या समाधान गर्दै अगाडि बढिरहेका छौँ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले बारम्बर उपत्यकावासीले चैत मसान्तमा मेलम्चीको पानी पिउन पाउँछन् भनिरहेका छन् त?

राज्यले पानी पठाउने समय घोषणा गरिसकेपछि त्यहीअनुसार हामी काम गर्नु नै पर्‍यो। काम पनि भइरहेको छ। पहिला हामी जुन उद्देश्य लिएर काम गरेका थियौँ‚ त्यहीअनुरूप प्रगति सन्तोषजनक छ। चैत मसान्तसम्म अस्थायी रुपमा पानी पठाउने लक्ष्यअनुसार काम गरिरहेका छौँ। यद्यपि‚ मिति तलमाथि हुनसक्छ। वैशाख महिना पनि पुग्न सक्छ।

आयोजनाको गेट बन्द गर्दा त दुई किमी टनेलमा लेदो भरियो। वर्षातमा खुला गर्दा झन् बढी क्षति पुग्छ। त्यसैले बाढीबाट थप क्षति रोक्ने विकल्प वर्षातमा बन्द नै गर्ने हो।

मेलम्चीको पानी स्थायी रूपमा कहिलेसम्म आउँछ?

पहिरोबारे अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले अध्ययन गरिरहेका छन्। उहाँहरूले छिट्टै फाइनल रिपोर्ट बुझाउँदै हुनुहुन्छ। उहाँहरूले दीर्घकालीन र तत्काल गर्ने कामको सुझाव दिनुहुन्छ। त्यहीअनुसार काम अगाडि बढाइन्छ। रिपोर्ट आएपछि मात्रै कहिलेसम्म स्थायी रूपमा पानी पठाउन सकिन्छ भन्ने भन्न सकिन्छ।

स्थायी रूपमा पानी ल्याउन कति खर्च लाग्ने अनुमान छ?

बाढीले क्षति पुर्‍याएको ठाउँको मर्मतका लागि डेढ अर्ब रूपैयाँ स्रोत सुनिश्चित भएको छ। अहिले ३१ करोड लागतमा मर्मत भइरहेको छ। हेडबक्स पुरिएको छ। त्यो खोतल्दै छौँ। विज्ञहरूले हेर्डबक्सबारे के–के सुझाव दिन्छन्। हेर्डबक्स मर्मत मात्र गर्ने हो भने त्यहीअनुसार खर्च हुन्छ, नयाँ बनाउने हो भने त्यहीअनुसार खर्च लाग्छ। विज्ञको रिपोर्ट नआइ कति खर्च लाग्छ भनी भन्न सकिँदैन।

मेलम्ची खानेपानी आयोजनाबाट प्रभावितलाई क्षतिपूर्तिबापतको रकम माग गरिरहेका छन्‚ यसबारे के भन्नुहुन्छ?

यस विषयमा खानेपानी मन्त्रालयले प्रकृया अगाडि बढाएको छ। खानेपानीको राजस्व उठ्न थालेपछि त्यो माग पनि सम्बोधन हुन्छ होला।

याँग्री र लार्के खोलाबाट उपत्यकामा पानी ल्याउने योजना कहाँ पुग्यो?

मेलम्ची आयोजनापछि याँग्री र लार्के खोलाबाट पानी ल्याउने सरकारको योजना छ। त्यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बन्दै गर्दा बाढीले मेलम्चीमा ठूलो क्षति पुग्यो। त्यसैले राज्यको ध्यान मेलम्चीमा गएको छ।

मेलम्चीको समस्या समाधान भएपछि मात्र याँग्री र लोर्केको काम अगाडि बढ्छ भन्ने मलाई लागेको छ। अहिले मेलम्ची आयोजना मर्मतमा प्राविधिक टोलीसहित १५ जनाभन्दा बढी ‍कर्मचारी खटिरहेको छौँ।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी लामो समयपछि सम्पन्न गरी पानी वितरण भएको थियो। तर‚ आयोजना पूरा भएको तीन महिना नबित्दै बाढीले आयोजनामा क्षति पुग्यो। यसबाट सिक्नुपर्ने केही छ?

हामीले निर्माणमा मात्रै ध्यान दिइरहेका छौँ। आयोजना निर्माणअघि गहन अध्ययन अनुसन्धानलाई प्राथमिकता दिएका छैनौँ। मेलम्चीको घटनाले ठूला लगानीमा निर्माण गरिने योजनाको काम सुरू हुनुअघि नै गहन अध्ययन अनुसन्धान गर्नुपर्ने देखाएको मैले महुसस गरेको छु। 

२०७७ असार ३० मा आयोजनाको परीक्षण गर्ने बेला सुरुङमार्गको गेट फुट्दा इञ्जिनियर सतिश गोइत र सवारी चालक राधाकृष्ण थापामगर बेपत्ता भए, यस्ता दुर्घटना फेरि दोहोरिन नदिने के गर्नुपर्छ?

पहिला भएका गल्ती र समस्या सच्याइसकेका छौँ। सच्याएर नै तीन महिना पानी पठाउने काम भयो। अहिले पनि गेटहरू चेक गरिरहेका छौँ। हामी सचेत बनेका छौँ। अब त्यस्तो दुर्घटना दोहोरिँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.