|

इटहरी : अफ्रिकी खेलाडी फोडे फोफोना र अजयी मार्टिन्स निर्णायक बनेपछि रोलिङ क्लब धुलाबारीले १२ औ संस्करणको इटहरी गोल्डकपमा विजयी शुरुवात गरेको छ।

इटहरी रंगशालामा भएको तेश्रो क्वार्टरफाइनल खेलमा रोलिङले पाहुना टोली एभेनिर फुटबल क्लब क्यामरुनलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। रोलिङको जितमा फोफोना र मार्टिन्सले गोल गरेका थिए। एभेनिरका केनीले सान्त्वना गोल फकाए । खेलको शुरुवाती अग्रता एभेनिरले लिएको थियो।

२७ औं मिनेटमा रोलिङका गोलरक्षक मनोज प्रधानको हातबाट फुत्किएको बललाई केनीले जाली चुमाए। १ मिनेट नबित्दै फोफोनाले खेल बराबरीमा ल्याए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको इन्जुरी समयमा मार्टिन्स निर्णायक गोल गरे।

एभेनिरका डिफेन्डर बेलको कमजोरीको फाइदा उठाउँदै मार्टिन्सले पोष्टको दिशा दिए। खेलमा दुवै टिमले केही राम्रा मुभहरु बनाए पनि सदुपयोग गर्न सकेनन्। ९ औ मिनेटमा फोफोनाको सशक्त हेडरलाई गोलरक्षक रोड्रिग्यूले नियन्त्रणमा लिए। २६ औं मिनेटमा एभेनिरका गोलरक्षक हातबाट फुत्किएको बललाई सन्जोग राईले खाली पोष्टमा गोल गर्न सकेनन्।

३० औ मिनेटमा रोलिङका अजयी मार्टिन्सको एक्रोबेटिक प्रहार बाहिरियो। ६० औ मिनेटमा मनिष थापाको क्रसमा सन्जोगले गरेको हेडरले जाली चुम्न सकेन। ६३ औ मिनेटमा रोलिङका गोलरक्षक मनोजलाई फाउल गरेपछि बोरिसले पहेलो कार्डको दर्शन गरे।

७० औ मिनेटमा वान भर्सेस वानको अवस्थामा बोरिस अग्रता दिलाउनबाट चुके। खेलको म्यान अफ दि म्याच रोलिङका डिफेन्डर पिटर सेगुन घोषित भए। उनले नगद १० हजार प्राप्त गरे। जितसँगै रोलिङले फाइनल प्रवेशका लागि बुधबार विभागीय टोली त्रिभुवन आर्मीलाई प्रतिद्वन्द्वी पाएको छ।

खेलपछि पत्रकारसँग कुरा गर्दै एभेनिरका प्रशिक्षक आशिक थापा मगरले डिफेन्डरको कमजोरीको कारण पराजित भएको बताए। उनले खेलमैदान नबुझेको कारण खेलाडीको फिनिसिङ आउन नसकेको बताए। मगरले क्यामरुनका खेलाडीहरुलाई घाँसे मैदानको अनुभव कम भएकाले अपेक्षाअनुरुप खेल नभएको बताए।

उनले खेलाडीहरु अनुशासित नभएकाले नेपालमा खेलिएका धेरै जसो प्रतियोगितामा पराजय भोगेको भन्ने जवाफ दिए। उनले आफ्ना खेलाडीहरु रातभरि मोबाइलमा व्यस्त भइदिएको गुनासो गरे। ‘रातभरि मोबाइलमा हुन्छन् यहाँ रातको ११ बज्दा उनीहरुको बिहान हुन्छ अब परिवारसँग कुरा नगर भन्न पनि मिलेन।’

उता रोलिङका प्रशिक्षक सुजन गुरुङले विपक्षी टिम राम्रो भएको बताए। उनले ग्राउन्डको कारणले पहिलो गोल बेहोरेको बताए। मिडफिल्डमा कमजोरी भएको बताउँदै एरिया कभर नभएको बताए। खेपका कारण खेलाडीहरूले लगातार खेल भएकाले थाकेको उनले बताए। उनले लगातार खेलका कारण इन्जुरीको समस्या देखिएको बताए।

उनले खेलाडीहरूलाई सम्झौता गरेर नराखेको कारण लगातार प्रतियोगिता खेलाउनुपर्ने बाध्यता रहेको सुनाए। उपलब्ध खेलाडी समेटेर टिम तयार भएको गुरुङले बताए।

प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा यसअघि विभागीय टोली त्रिभुवन आर्मी, मनाङ मर्स्याङदीले सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.