|

हेटौंडा : बागमती प्रदेश सरकारले एकैपटक ४ वटा अध्यादेश ल्याउने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको हो।

सरकारले निर्णय गरेकामध्ये एउटा अध्यादेश भने जारी भइसकेको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन्। लामो समयदेखि संसदमा भएको अवरोधका कारण सरकारले एकै पटक ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।

संसदमा भएको अवरोधका कारण सरकारलाई तत्काल काम गर्न बाधा आएकाले अध्यादेशमार्फत् काम चलाउनु परेको उनको भनाइ छ। उनका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गरेको छ।

सरकारले ल्याएका ३ वटा अध्यादेश प्रदेश प्रमुख शर्मामार्फत् स्वीकृत भएपछि लागू हुने उनले बताए। मन्त्री खनालका अनुसार सरकारले प्रदेशमा अपुग रहेका कर्मचारीको परिपूर्तिका लागि अध्यादेशमार्फत् प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका काम गर्ने तयारी गरेको छ।

सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत्त संस्थाको रुपमा स्थापना गर्न आफ्नै अस्पतालको व्यवस्था गर्न अध्यादेश ल्याइएको मन्त्री खनालले बताए। उनले उक्त अध्यादेश जारी भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत राखिएको हेटौंडा अस्पताल अलग हुने बताए।

हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषय अध्यापन गराउन पर्याप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको उनले बताए। उनले प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको शैक्षिक कार्यक्रममा बाधा नपार्न तत्काल चितवनको भरतपुर अस्पतालमा पठनपाठनको व्यवस्था मिलाइएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.