|

चितवन : त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो।

भरतपुर-१९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले ह्याट्रिक गरिन्। यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मि घिसिङ, कुसुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे।

आर्मीकी खेलको तेस्रो मिनेटमै अग्रता लियो। आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन्। १५ औं मिनेटमा दीपाले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाइन्। त्यसलगत्तै १७औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो। २४ औं मिनेटमा अमिशाले गोल गरेपछि पहिलो हाफमा आर्मीले ४–० को अग्रता लियो।

दोस्रो हाफमा आर्मीले ६ गोल थप्यो। ५३ औं मिनेटमा रश्मिले आर्मीका लागि पाँचौं गोल गरिन्। ६२ औं मिनेटमा मैदान प्रवेश गरेकी सपनाले ह्याट्रिक गरिन्। उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै गोल गरिन्। ६५ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीलाई ७–० को अग्रता दिलाइन्।

७५ औं मिनेटमा कुसुमको गोलपछि आर्मीले ८–० को अग्रता लियो। ८२ औं मिनेटमा सपनाले ह्याट्रिक पूरा गरिन्। ८७ औं मिनेटमा हेमाले गोल गरेपछि आर्मी १०–० ले विजयी भयो। आर्मीकी दीपा प्लेयर अफ दि म्याच भइन्।

यो जितपछि आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेलमा आर्मीको ३ जित र दुई हारबाट ९ अंक छ। एक खेल कम खेलेको धनगढी समान अंक भए पनि गोल आधारमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ।

आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसीले ललितपुरविरुद्ध सहज जित निकालेको छ। एपिएफले ललितपुरलाई ४–० ले हराएको हो। एपिएफलाई जिताउन सावित्रा भण्डारी साम्बा, हीराकुमारी भुजेल, सरु लिम्बू र रेनुका नगरकोटीले गोल गरे।

डिफेन्सिभ खेल खेलेको ललितपुरले पहिलो हाफमा एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो। पहिलो हाफमा ललितपुरका डिफेन्डर र गोलकिपर एपिएफका लागि बाधक बने। ललितपुरका डिफेन्डर र गोलकिपरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे।

एपिएफलाई गोल निकाल्न ६२ औं मिनेटसम्म कुर्नु पर्‍यो। ६२ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। ६८ औं मिनेटमा हीराकुमारीले एपिएफलाई दोहोरो अग्रता दिलाइन्।

खेलको अन्त्यतिर ललितपुर सम्हालिन नसक्दा थप दुई गोल खायो। निर्धारित समयको खेल सकिएर थप गरिएको ७ मिनेटमा सरु र रेनुकाले गोल गर्दै आर्मीलाई ४–० को सहज जित दिलाए। खेलको प्लेयर अफ दि म्याच एपिएफकी हीराकुमारी भुजेल घोषित भइन्।

यो जितपछि शीर्ष स्थानको एपिएफले दोस्रो स्थानको आर्मीसँगको अंक दूरी बढाएको छ। पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको एपिएफको १५ अंक छ। समान खेल खेलेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ। ललितपुरको समान खेलबाट ३ अंकमात्र छ।

लिगमा बुधबार पनि दुई खेल हुनेछ। पहिलो खेल दिउँसो १ः१५ बजे विराटनगर र धनगढीबीच हुनेछ। यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र नेपाल पुलिस क्लबबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.