|
फाइल तस्वीर

काठमाडौं : वैदेशिक रोजगार कार्यालय काठमाडौंले अब संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। वैदेशिक रोजगार कार्यालय प्रमुख रमेश अर्यालले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए।

कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिनै संस्थागत श्रम स्वीकृति दिने व्यवस्था गरिएको हो।

कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ। पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक १ हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभइ अनलाइनबाटै सेवा लिँदै आएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीतिअनुसार अनलाइन प्रणालीको विकास गरिएको बताए। मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी सेवाप्रवाह गर्न यस्तो व्यवस्था मिलाइएको बताए।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रुपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालको भनाइ छ।

कागजातहरु जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ सर्भरको समस्या हुन सक्ने भएकोले ३ दिनअघि नै संस्थागत श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन इजाजतपत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई कार्यालयले अनुरोध पनि गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.