|

सल्यान : ​चैतवैशाख महिनामा फुल्नुपर्ने लालीगुराँस माघ फागुनमै फुलेर चैतको अन्तिम सातासम्म ओइलाएर झर्न थालेका छन्। प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने भए पनि सल्यानमा विगतमा फागुनचैतमा मात्र फुल्ने गरेको थियो। 

चैतवैशाखमा फुल्ने लालीगुराँस माघ महिनादेखि नै फुल्न थालेपछि जंगल राताम्मे भएका थिए। समयअघि फुलेर राताम्य भएका लालीगुराँस हेर्न, फोटो खिच्न, टिकटक बनाउन र रमाउन पर्यटकको भीड लागेको थियो। 

पछिल्लो समय जलवायु परिवर्तनका कारण वातावरणमा अस्वभाविक परिवर्तन देखिदै आइरहेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। जलवायु परिवर्तनको असरका कारण फुल फुल्ने समयअघि नै लालीगुराँस फुलेको र फुल्ने समयमा ओइलाएर झर्न थालेको डिभिजन वन प्रमुख रमेश गिरीले बताए।

लालीगुराँस संरक्षण गर्न दर्शनटाकुरी सामुदायिक वन उपभोक्ता समूह वनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनको भनाइ छ। १.४२ हेक्टर क्षेत्रफलमा लालीगुराँस संरक्षण गरिएको गिरीले बताए। 

मौसम परिवर्तनका कारण चाँडै गुराँस फुलेपछि फुल्ने समयमा ओइलाउन थालेको स्थानीय पदमबहादुर थापाले बताए। प्राकृतिक सुन्दरतासँगै ढकमक्क फुलेका विभिन्न प्रजातिका गुराँसले मन आनन्दित बनाउने थापाको भनाइ छ। 

सल्यानमा प्रायः रातो रङको लालीगुराँस पाइने गरेको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख मित्र पाठकले जानकारी दिए। 

जिल्लाको बागचौर, वनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, दार्मा, कुमाख, सिद्धकुमाख गाउँपालिका लगायतका क्षेत्रमा प्रशस्त मात्रामा गुराँस पाइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.