|

काठमाडौं : देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ। अर्थतन्त्रमा संकटको संकेत देखिएसँगै सरकारको ध्यान रेमिट्यान्स भित्र्याउनेतर्फ केन्द्रित भएको छ।  

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्ससमेत घट्दै गएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्स घट्दै गएको छ। अर्थतन्त्रको आधा हिस्सा वैदेशिक रोजगारी गएका नेपालीले पठाउने रेमिट्यान्सले धानेको थियो।

रेमिट्यान्स घटेसँगै अर्थतन्त्रमा संकटको संकेत देखिएको सरोकारवाला  बताउँछन्। नेपाल राष्ट्र बैंकले १६ चैतमा देशको अर्थतन्त्र खस्केको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयलाई सुधारका कदम चाल्न सुझाव दिएको थियो। 

जसमा विप्रेषण (रेमिट्यान्स) पठाउँदा लाग्ने शुल्कको कम्तीमा ५० प्रतिशत अनुदानको व्यवस्था गरी विप्रेषण रकम खातामा तत्काल जम्मा हुने व्यवस्था गर्न सुझाव दिएको थियो। रेमिट्यान्स पठाउने र पाउनेलाई सहज बनाउन २४ घण्टा नै सहयोगी कक्षको व्यवस्था गर्नसमेत सुझाएको थियो।

रेमिट्यान्स बढ्न नसके आयात धान्न सकस हुने भएपछि अब रेमिट्यान्सलाई बैंकिङ च्यानलमा ल्याउन प्रोत्साहन गर्ने नीति बनाउन छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। 

त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अर्थतन्त्र सुधार्न टेवा पुग्ने रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउनुपर्ने लगायतका १ दर्जन प्रस्ताव पेश गरेका छन्। अर्थ मन्त्रालयका सरोकारवाला निकायसँग भएको बैठकमा मन्त्री श्रेष्ठले विदेशबाट बैंकिङ च्यानल प्रयोग गरी विदेशी मुद्रा ल्याउन प्रोत्साहन गर्नुपर्ने बताएका थिए। 

मन्त्री श्रेष्ठले विदेशका मुख्य शहरमा नेपाली बैंक स्थापना गर्ने, पैसा पठाउँदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने, विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा २ प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने, औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेश गरे नेपाल आउँदा ल्याउन पाउने सामानमा सहुलियत दिनुपर्नेलगायत प्रस्ताव पेश गरेका छन्। 

कति भित्रियो रेमिट्यान्स ?

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण आर्थिक गतिविधि ठप्प भयो। जसका कारण वैदेशिक रोजगारी अर्थात श्रम क्षेत्रमा ठूलो असर पर्‍यो। एकातिर स्वदेशमा रोजगारीको खोजीमा विदेश जान पाएनन् भने अर्कातिर स्वदेश आएका युवा कोभिडको मारले विदेश फर्कन पाएनन्। यसकारण बेरोजगारको संख्या बढ्नुका साथै देशमा भित्रिने रेमिट्यान्स पनि घट्दै गयो।  

२ वर्ष ठप्प भएको वैदेशिक रोजगारी कोरोना संक्रमण घट्दै गएसँगै विस्तारै लयमा फर्किँदै छ। नेपाल राष्ट्र बैँकका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा ६  खर्ब ३१ अर्ब रेमिट्यान्स आएको छ। गत वर्ष सोही अवधिमा ६ खर्ब ४२ अर्ब रेमिट्यान्स भित्रिएको थियो।

कुन वर्ष कति विदेशिए

चालू आवमा रोजगारीका लागि ३ लाख ६९ हजार ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति  लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ। 

आव ०७७/७८ मा ७२ हजार ८१ जनाले श्रम स्वीकृति लिएका थिए। कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो। त्यसैगरी  आव ०७६/७७ को १ लाख ९० हजार ४ सय ५३ जनाले श्रम स्वीकृति लिएका थिए। 

कोरोनाका कारण रोजगारदाता देशमा पनि भने अनुसारका कामदार जान नपाएको वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठ बताउँछन्। श्रमिकले भने अनुसारको अवसर नपाएर रोकिएको उनको भनाइ छ। श्रमिकको संख्यामा कमी आएकाले रेमिट्यान्स घटेको उनको ठहर छ। 

मुख्य कारण कोरोना

पछिल्लो समय रेमिट्यान्स घट्नुको मुख्य कारण विश्वभरि नै महामारी बनेको कोरोना नै भएको  वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ बताउँछन्। महामारीका समयमा रोजगारी गुमाएका र स्वदेश फर्किएका श्रमिक लामो समय कार्यक्षेत्रमा फर्किन पाएनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.