|

काठमाडौँ : वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ।

रथयात्रा शुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ। यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाकशाला अगाडि बनाइएको रथमा रथारोहण गराइन्छ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु गरिन्छ। काठमाडौँको पुरानो बस्ती भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ। असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छिन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ। आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्‍याइन्छ।

अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन  मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ। रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र माँ सीमा नामक रूखलाई तीनपटक परिक्रमा गराई जात्रा समापन गरिन्छ।

मच्छिन्द्रनाथको रथ लगनटोलमा रथ पुगेपछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगनचोकमा जात्रा देखाउने चलन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.