अर्थमन्त्री शर्मा भाग्‍ने दिन आउने पूर्व-अर्थमन्त्री पाण्डेको चेतावनी

|

काठमाडौं : नेकपा एमालेका तीन पूर्व-अर्थमन्त्रीहरुले पाँच दलीय गठबन्धनको सरकारले देशको अर्थतन्त्रमाथि खेलबाड गरेको टिप्पणी गरेका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले समग्र अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

पूर्व-अर्थमन्त्री युवराज खतिवडाले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो असली रुप देखाएको टिप्पणी गरे। वर्तमान सरकारको ध्यान आर्थिक सङ्कटमा भन्दा सत्ता केन्द्रित हुँदा नेपालको अर्थ व्यवस्था गम्भीर सङ्कटको मोडमा पुगेको बताए।

संयुक्त विज्ञप्ति वाचन गर्दै उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय अर्थमन्त्री जनार्दन शर्माले आफ्नो अक्षमता लुकाउन लिएको टिप्पणी गरे। 

एमाले नेतृत्वको सरकारले नियुक्त गरेकै कारण गभर्नर अधिकारीलगायत दर्जनौँ व्यावसायिक रुपमा दक्ष र इमानदार व्यक्ति गठबन्धन सरकारको कोपभाजनमा परेको दाबी विज्ञप्तिमा गरिएको छ।

अर्का पूर्व-अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। अमेरिकाबाट आएको शङ्कास्पद एक व्यक्तिको करोडौँ रकम रोक्का नगर्न अर्थमन्त्रीले राष्ट्र बैंकलाई निर्देशन दिन नमिल्ने भन्दै यसै कदमलाई लिएर जेल हाल्न सकिने बताए। 

यस्तै, पूर्व-अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप गर्नुपर्नेमा जोड दिए। 

उनले गभर्नरमाथि गरिएको हस्तक्षेप एक व्यक्तिमाथिको नभई सिङ्गो प्रणालीमाथिकै हस्तक्षेप भएको बताए। कांग्रेस नेतृत्वले यसअघि पनि गभर्नरमाथि कारबाहीको प्रयास गर्दा असफल भएको भन्दै एमालेले त्यसबाट पाठ सिक्न सिकेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.