‘सरकारले आफ्नो नालायकीपन छोप्‍न गभर्नरलाई निलम्बन गर्‍याे’

|

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गभर्नर निलम्बनको विषयमा अर्थमन्त्री जनार्दन शर्माको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिएको आरोप लगाएको छ। 

एमालेका तीन पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए। वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन।’

उनीहरूले अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवक भएको दाबी गरेका छन्। गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको बताएका छन्। गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासन विरोधी आफ्नो सक्कली रुप देखाएको टिप्पणी गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धन सरकारका नीतिहरू संगतिपूर्ण छैनन्। यो गठबन्धन सरकारमा सहभागी दलहरुबीच समग्र आर्थिक नीति, द्विपक्षीय तथा बहुपक्षीय सहायता परिचालन, अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका जस्ता आधारभूत विकासका अवधारणामा नै विरोधाभाष रहेको तथ्य त सडकमा नै छताछुल्ल भएको छ।’

गठबन्धन जोगाउनेबाहेक कुनै सोच नभएको सरकारले समग्र विकासका लागि पुँजी बजारको विकास, दातृ निकायको सहयोग, निजी क्षेत्रको स्रोत र क्षमता परिचालन तथा आर्थिक क्षेत्रको संरचनात्मक सुधारमा ध्यान दिने अपेक्षा नरहेको उल्लेख गरेका छन्। 

‘अन्तर्राष्ट्रिय संस्थाको सहयोग स्वीकार गर्नेमा होस् या व्यावसायिक वातावरण सुधार गर्दै निजी क्षेत्रको लगानी बढाउने विषयमा होस्, सरकारका सहभागी दलहरुमा रहेको फरक–फरक दृष्टिकोणका कारण निजी क्षेत्र, दातृ निकाय, कर्मचारीतन्त्रदेखि नागरिक समाजसम्ममा नैराश्य फैलिएको छ’ विज्ञप्तिमा भनिएको छ। 

नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्व विहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास रहेको उल्लेख गरेको छ।  गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन आरोप लगाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.