|

सल्यान : सल्यानका पहाडी क्षेत्रमा परम्परागत गरगहना लोप हुँदै जान थालेका छन्।

महिलाले नाकमा लगाउने बुलाकी, निधारमा लगाउने टिकी, घाँटीमा लगाउने ढुङ्ग्री, चापकी, कम्पनी माला, चवानी माला, ठुमराई माला लगायतका परम्परागत गहना लोप हुने अवस्थामा पुगेका छन्।

पुरानो पुस्ताले लगाउने परम्परागत शैलीका गरगहना आधुनिक गहनाको प्रचलनसँगै लोप हुने अवस्थामा पुगेका छन्।

पुराना गरगहना पाउनै छोडेका कारण लोप हुने अवस्थामा पुगेको बुढापाकाहरुको भनाई छ।

नयाँ पुस्ताले आधुनिक डिजाइनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको बनगाड कुपिण्डे नगरपालिका – ४ डोप्केकी सर्केनी बस्नेतले बताइन।

उनले भनिन् 'महिलाले लगाउने चाँदीका चवानी, ठुमराई, सिक्री, कम्पनीका माला, बुलाकी, नत्थी, ढुङ्ग्री लगायतका गहना अहिले कसैले पनि लगाउँदैनन्।'

नाकमा बुलाकी, पाते सुन, चापकी लगाउने महिला गाउँघरमा फाटफुट देखिने गरे पनि अन्य गहना लोप हुने अवस्थामा परेको ५८ वर्षीया ललि बुढाको भनाई छ।

उनले भनिन् ‘पुरानै रीति संस्कार गरम भनेर मैले त अहिलेसम्म पुरानै गहना लगाउँदै आएकी छु। अब बाँचुन्जेल यिनै गहना लगाएर मर्न मन छ।’

सहर बजारमा नयाँ नयाँ डिजाइनका गरगहना पाइए पनि आफूलाई पुरानै गहना लगाउँदा आनन्द आउने उनले बताइन।

सानै उमेर विवाह गरी आउँदा सासुले दिएका गहना र नेपालगञ्ज हाट जाँदा चाँदीका सिक्री, कम्पनी माला किनेर ल्याउने गरेको उनले बताइन।

अहिले ती गहना कतै पनि नपाइने र ती गहना बनाउने मान्छे समेत नपाइने बुढाको भनाई छ।

उनले भनिन् ‘अहिले छोरी बुहारीलाई यस्ता गहना मन पर्दैन, उनीहरुलाई बजारमा आएका नयाँ नयाँ गहना चाहिन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.