|

काठमाण्डाैं : गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ तेस्रो साता आयोजना हुने भएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताए।

यस अघि आठौं राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिममा रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो।

उक्त खेलकुद महोत्सवको समापन समारोहमा नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निधो भएको थियो।

हरेक दुई वर्षमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद २०७७ सालमै आयोजना हुनुपर्ने थियो।

विश्वब्यापी बनेको कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेको थिएन।

नयाँ सदस्य सचिवको नियुक्ति भएसँगै मुख्य एजेन्डाको रुपमा अघि सारिएको प्रतियोगिताको मिति तय भए पनि अन्य प्रक्रियाका लागि समय अवधि छोटो रहेको छ।

छोटो समयमा नै प्रतियोगिता सम्पन्न गराउन सम्बद्ध सबै पक्षसँग सदस्य सचिवले आग्रह गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको थिएन।

यस्तै सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद गतिविधि सञ्चालन गर्न आर्थिक कारण बाधक नहुने बताए।

अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर भए पनि ठूला प्रतियोगिता तोकिएकै समयमा हुने सदस्य सचिव घिसिङले प्रस्ट पारे।

उनले राष्ट्रिय खेलकुद गतिविधि खेलकुद परिषद्को मात्र नभएर देशकै गतिविधि भएकोले हुदैन कि भनेर शंका नगर्न आग्रह गर्नुभयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.