|

पेकिङ : चीनले पाकिस्तान आफ्नो ‘सबैभन्दा असल मित्र’ भएको बताउँदै छिमेकीसँगको कूटनीतिक सम्बन्धमा उसलाई प्राथमिकता दिने बताएको छ।

शाहबाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नियुक्त भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले बिहीबार यस्तो जानकारी दिएका हुन्।

प्रवक्ता चाओले पत्रकार सम्मेलनमा भने, ‘हामी चिनियाँ प्रधानमन्त्री शाहबाजको सकारात्मक प्रतिक्रियाको सम्मान गर्छौं।’

उनले भने‚ ‘चीन र पाकिस्तान महत्त्वपूर्ण रणनीतिक साझेदार र असल मित्र हुन्। हामी हाम्रा छिमेकीहरूसँग कूटनीतिको सन्दर्भमा पाकिस्तानलाई सधैं सर्वाधिक प्राथमिकता दिनेछौं र सुधारका लागि यसको प्रयासलाई समर्थन गर्नेछौं।’

योसँगै चीनले ६० अर्ब डलरको चीन-पाकिस्तान इकोनामिक करिडोर (सीपीईसी) परियोजनालाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

नवनियुक्त प्रधानमन्त्री शाहबाजले मंगलबार चिनियाँ दूतावासका प्रमुख फाङ चुन्सुसँग उनको कार्यालयमा भेट गरेका थिए।

भेटका वेला शरीफले आफ्नो सरकारले चीनसँगको सम्बन्ध सुधारलाई अत्यधिक महत्त्व दिएको बताएका थिए। साथै उनले कृषि, विज्ञान तथा प्रविधि, शिक्षा र गरिबी निवारणका क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप विस्तार गर्न इच्छुक रहेको बताए।

शरीफले आफ्नो सरकारले सीपीईसीको निर्माणलाई लगनशीलताका साथ अगाडि बढाउने र दुबै देशलाई फाइदा पुग्ने गरी द्रुत गतिमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रवक्ताले भने‚ ‘हामी पाकिस्तानी प्रशासनसँग काम गर्न जारी राख्नेछौं र विभिन्न तहमा निकट सम्पर्कमा रहनेछौं, द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेछौँ र सीपीईसी निर्माण गर्नेछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.