|

सुर्खेत : सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको विमानस्थल नजिकै सडकमा काम गर्ने रमिता बुढालाई स्थानीय तहको चुनावमा विषयमा कुनै जानकारी छैन।

उनी बिहान ७ बजे सडकको काम गर्न बिहानै धुलाम्मे सडकमा पुग्छिन्। बेलुकी अबेर सडकबाट कोठामा पुग्ने गरेको उनको भनाइ छ। उनीसँग मोबाइल छैन, न त घरमा सञ्चारका साधन नै छन्। चुनाव आएको जस्तो उनलाई लागेकै छैन। तीन छोरी र एक छोराकी आमा दैनिक सडककै गुजारा गरेर दैनिकी बित्ने गरेको छ।

उनीले काम गरिरहेको सडकमा पार्टीका झण्डाहरू राखेका यातायातका साधनहरू गुडिरहेको देखिन्छ तर धुवाँ बाहेक आफूले केही थाहा नपाएको उनको भनाइ छ। नेताहरू आए पनि खास कार्यकर्ताको घरमा आएर योजना बनाएको र खासखुस गरेको मात्र देखिन्छ तर खास मतदातासम्म नेताहरू नपुगेको उनको भनाइ छ।

कुन दलले के गरेको उनलाई थाहा छैन।

उनी जस्तै जाजरकोट भेरी नगरपालिका–२ काली पुनको दैनिक गिटी कुट्दै दिन बित्छ। उनलाई भोट खसाल्नेभन्दा पनि छाक कसरी टार्ने भन्ने चिन्ता छ। छोराछोरी पढाउने र शारीरिक रूपमा अशक्त श्रीमान दलबहादुर पुनलाई खाना र कपडा कसरी पुर्‍याउने भन्ने चिन्ता छ।

५ छोराछोरीकी आमा एक्लै कमाउने र घरधन्दा गर्नुपर्ने बाध्यता छ। ‘सबै छोराछोरी १५ वर्षभन्दा तलकै छन्’‚ उनले भनिन्। भोट हाल्ने समयमा मात्र नेताहरू पुग्ने गरेको र आश्वासन दिने गरेको उनको भनाइ छ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई भोट हालेको, भोट हाल्दा आश्वासन दिए पनि चुनाव जितेपछि कुनै पनि माग सुनुवाइ नभएको पीडा सुनाइन्। चुनावमा मात्र जनता चिन्ने‚ त्यसपछि फर्केर नहेर्ने गरेको उनको आक्रोश छ। फेरि पनि घर्ती उम्मेदवार भएको खबर छिमेकी दाइले सुनाएपछि रिस उठेको उनले बताइन्।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरमा ढुंगा बोकेर जीविका चलाइरहेका पूर्ण सार्कीलाई जुन व्यवस्था आए पनि जनताको जीवन स्तर नबदलिएको भन्दै पीडा सही नसक्नु छ। उनी भन्छन्, ‘गाडीमा नेताहरू सररर यता, सररररर उत्ता जान्छन्। हाम्रो थाप्लोमा मेरो तौलभन्दा ठूलो ढुंगाको भरी हुन्छ? हाम्रो पीडा कसले सुन्ने।’

धेरै मानिस कमाउन भारत गएको उनको भनाइ छ। ‘दलका मान्छेहरू ठेक्का, उपभोक्ता समिति बनाउन खोजी खोजी आफ्ना मान्छे राख्छन्, हामी जस्ता मजदुरलाई जो व्यवस्था आए पनि के अचम्म भो र?’‚ उनले भने। संसार बदल्ने भनेर के गर्नु, नेताहरू आफैँ मात्रै बदलिएको भन्दै उनले आक्रोश पोखे।

निम्न वर्गका सर्वसाधारणलाई चुनावभन्दा पनि कसरी बाँच्ने भन्ने मुख्य कुरा भएको स्थानीय बासिन्दा बताउँछन्। ‘हामी कसैका पनि होइनौँ’‚ सेते कुलालले भने‚ ‘हामीलाई रोजीरोटीको चिन्ता छ, भोट त तपसिलका कुरा हुन्।’

कर्णाली प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा मिडियाको पहुँच कम हुनुका साथै सञ्चार सम्पर्क समेत न्यून भएका कारण तोकिएकै समयमा सूचना पाउन मुस्किल हुँदै आएको छ। गरिबको नाममा मुठीभरका व्यक्तिले रजाइँ गर्दा सर्वसाधारण मर्कामा परेको देखिन्छ। स्थानीय तहको चुनावमा समेत तिनै मुठीभरका व्यक्तिहरू परिचालित भएर सर्वसाधारणको आँखामा छारो हालिरहेको पीडितहरूको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.