म्याग्दी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन्।
म्याग्दीका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारहरूमा प्रमुख पदमा एकजना पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा एकजना महिला मात्र समेटिएकी छन्।
१ नगरपालिका र ५ गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन्। यी ४५ वडाका लागि आज शुक्रवारसम्म जिल्लामा नेकपा एमालेले ४३, नेपाली कांग्रेसले २८ र नेकपा माओवादी केन्द्रले ११ वटा वडामा ८२ जना वडाध्यक्षका प्रत्यासी छनोट गर्दा नेकपा एमालेका तर्फबाट मंगला गाउँपालिका वडा नं ४ मा लक्ष्मी बुढाथोकी मगर मात्र वडाध्यक्षकी एक्ली महिला उम्मेदवार बनेकी हुन्।
नेकपा एमाले मंगला गाउँपालिका–४ को वडा कमिटीले बुढाथोकी मगरलाई वडाध्यक्षको उम्मेदवार बनाएपछि वडाध्यक्षको उम्मेदवारका लागि जिल्लामा महिला उम्मेदवारको खाता खोलिएको हो।
अध्यक्षका उम्मेदवार बुढाथोकी पार्टीको वडा कमिटी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघ जिल्ला सदस्य हुन्। वडाको नेतृत्वमा पुरुषलाई नै अगाडि सार्ने तयारी गरिरहेका वेला बुढाथोकीले उम्मेदवारका लागि इच्छा व्यक्त गरेपछि सर्वसम्मत रूपमा वडाध्यक्षको उम्मेदवार बनाइएको नेकपा एमाले जिल्ला कमिटीका सदस्य एवम् मंगला गाउँपालिका–४ का इन्चार्ज कलाधर कँडेलले जानकारी दिए।
२०७४ सालको निर्वाचनमा सो वडाबाट नेकपा माओवादी केन्द्रका ओमबहादुर रोका ३१८ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका थिए। १ मतदान स्थल र २ मतदान केन्द्र रहेको मंगला–४ मा १ हजार ३९८ मतदाता रहेका छन्।
म्याग्दीमा सक्रिय ठूला राजनीतिक दलका नेतृत्व तहमा महिलाको संख्या पर्याप्त नहुँदा नीति निर्माणको तहमा महिलाका मुद्दा उठान गर्न नसकिएको र समतामूलक समाज निर्माणमा पनि समस्या देखिएको महिला अधिकारकर्मीको भनाइ रहेको छ।
मतदाताले महिला उम्मेदवारलाई बढी विश्वास गरे पनि नेतृत्वले विश्वास नगर्दा महिलाहरू राजनीतिमा पछि पर्नुपरेको महिला अधिकारकर्मी जमुना आचार्यले बताइन्।
‘विगतका निर्वाचनलाई हेर्ने हो भने महिला उम्मेदवारहरूले पुरुष उम्मेदवारको तुलनामा राम्रो मत प्राप्त गरेको देखिन्छ, तैपनि राजनीतिक दलको नेतृत्वले महिलालाई पत्याउँदैन’‚ आचार्यले भनिन्।
राजनीतिमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाहरूको सहभागिता क्लस्टरमा मात्रै सीमित रहने गरेको उनको भनाइ छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा म्याग्दीको मालिका गाउँपालिका–५ की वडाध्यक्ष पिपला बुढा जिल्लाका ४५ वटै वडामध्ये एक्ली महिला वडाध्यक्ष हुन्।
कोटा निर्धारण भएअनुसार नै महिलाहरूलाई ठाउँ दिइने गरेको नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित बुढाले बताइन्।
उसो त २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालु, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित रघुगंगा गाउँपालिकाकी कमला तिलिजा र अन्नपूर्ण गाउँपालिकाकी केशमाया मगर र राप्रपाबाट बेनी नगरपालिकाको उपप्रमुखमा निर्वाचित सञ्जु बरुवालको राजनीति प्रभाव र कार्यशैली सन्तोषजनक देखिए पनि दलहरूले भने प्रमुखमा हत्तपत्त विश्वास गरिहाल्ने मनसाय भने देखिदैन।
म्याग्दीमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी छ। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एकजना तेस्रो लिङ्गी मतदाता कायम भएको छ। जिल्लाको ६ वटै स्थानीय तह र ४५ वटा वडामा जनप्रतिनिधि चुन्नका लागि मतदान गर्न ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मतदानमा महिला नै निर्णायक हुने भएकाले महिलाहरूलाई नेतृत्व दिनुपर्नेमा सरोकारवाला निकायको जोड छ। समाजलाई समतामूलक बनाउन स्थानीय तहमा महिला नेतृत्व आवश्यक भएको नेपाली कांग्रेस म्याग्दीकी नेत्री विमला गौचनले बताइन्। पार्टीमा महिलाहरूको योगदान पनि उत्तिकै हुने भएकाले महिलालाई नेतृत्वका लागि टिकट दिन कन्जुस्याइँ गर्न नहुने उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।