|

म्याग्दी : पश्चिम म्याग्दीको दुर्गम गाउँ बुलबाट आइतबार (आज) दिउँसो हेलिकप्टरमार्फत एक सुत्केरी महिला र नवजात शिशुको उद्धार गरी पोखरास्थित गण्डकी अस्पतालमा लगिएको छ।

जिल्लाको धवलागिरि गाउँपालिका-५ मराङ बुलकी टीका विकलाई सुत्केरीपछि अचानक समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीले जनाएको छ।

सरकारको सुत्केरी उद्धार कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय पोखरा तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरी उद्धार गरिएको मराङका सामाजिक कार्यकर्ता एवम् स्थानीय युवा ईश्वर सुवेदीले जानकारी दिए। सुत्केरी महिलामा समस्या देखिएपछि उनको घरमा नै पुगेर स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले उपचार गरे पनि सुधार नभए पछि थप उपचारका लागि पोखरा पठाइएको मराङ स्वास्थ्य चौकीकी अनमी दालकुमारी गर्बुजाले बताइन्।

गाउँमा उपचार सम्भव नभएपछि प्रदेश सरकारसंग समन्वय गरी उद्धार गरिएको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिए। सरकारले गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रम लागू गरेपछि म्याग्दीका विकट ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई धेरै सहज भएको र विकट बस्तीका महिलाले समयमा नै उपचार पाएका स्थानीयको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.