|

काठमाडौं : स्थानीय चुनावको लागि आइतबार र सोमबार भएको मनोनयन दर्ताको क्रममा धादिङमा राजनीतिक दलहरुले पञ्चेबाजा घन्काएका छन्।

अधिकांश दलका उम्मेदवारहरूले बाजागाजाको तामझामसहित उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेले जिल्लाको २ नगरपालिका र ११ वटै गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दिन जाने क्रममा पञ्चेबाजा घन्काएको हो।

एमालेले धादिङको नीलकण्ठ नगरपालिकाको मेयर पदमा महिलालाई स्थान दिएको छ भने उप मेयरमा पुरुषलाई उठाइएको छ।

नगर प्रमुखमा गंगा श्रेष्ठ र उपप्रमुखमा फन्द्रा तामाङलाई एमालेले टिकट दिएको हो।

मेयरका उम्मेदवार श्रेष्ठ २०७४ सालको स्थानीय चुनावमा उपमेयरमा पराजित भएकी थिइन्।

उपमेयरमा उम्मेदवारी दिएका तामाङ नीलकण्ठ नगरपालिका १४ काे वडा अध्यक्षमा निर्वाचित भएका थिए।

सत्ता गठबन्धनको तर्फबाट भीम प्रसाद ढुङ्गाना नगर प्रमुखमा दोहरिएका छन्।

उनी गत स्थानीय चुनावमा नीलकण्ठ नगरपालिकामा अत्याधिक मतले विजयी भएका थिए। गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दिपक विश्वकर्माले उम्मेदवारी दिएका छन्।

सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना दलहरुका पनि अधिकांश उम्मेदवारले बाजागाजा सहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।

धादिङमा रहेका १३ वटै पालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर साझा उम्मेदवार उठाएका छन्।

जसमध्ये कांग्रेसले आठ वटामा प्रमुख र चार वटामा उपप्रमुख, नेकपा माओवादीले तीन प्रमुख र पाँच उपप्रमुख, समाजवादीले दुई प्रमुख र चार उपप्रमुखको पदमा उम्मेदवारी दिएका छन्।

धादिङका १३ पालिकामा १५ सय जना भन्दा बढीले उम्मेदवारी दर्ता गराएकाे जिल्ला निर्वाचन कार्यालयले जनाएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.