|

ललितपुर : जिल्लाका ६ वटा स्थानीय तहमा सोमबार मनोनयन दर्ता भएको छ। राति ढिलोगरी मात्र मनोनयन दताको कागती प्रकृया सकिएको ललितपुरको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

ललितपुर महानगरपालिकामा पुरानै प्रतिद्वन्द्वीले नै उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका चिरीबाबु मर्हजन मेयरको उम्मेदवार बन्दा माओवादी केन्द्रका बाबुराज मर्हजन उपमेयरमा उठेका छन्। प्रतिपक्षी दल एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी दर्ता गरेका छन्। 
२०७४ को निर्वाचनमा महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार कांग्रेसका महर्जनसँग झिनो मतान्तरले पराजित भएका थिए। महानगरको निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार १२ जना मेयरमा र १३ जना उपमेयरमा उम्मेदवारी दर्ता भएको छ। 

मेयरमा विवेकशील साझाबाट उज्जवलकृष्ण श्रेष्ठ, राप्रपाबाट अष्टबहादुर मर्हजन, नेमकिपाबाट अशोक मर्हजन, मंगोल नेसनलबाट राम मर्हजनले उम्मेदवारी दिएका छन्। उपमेयरमा सञ्चारकर्मी कुसुम बज्राचार्य, स्वतन्त्रमा अजमान जोशी र राप्रपाबाट स्वर्णिमा शाक्यले मनोनयन दर्ता गरेका छन्। 

गोदावरी नगरपालिकामा एमालेका तर्फबाट गम्बिर रानाले मेयरमा र रमि प्रधानाङ्गले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका गजेन्द्र मर्हजन र उपमेयरमा पनि कांग्रेसकै मुना अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। गजेन्द्र र मुना निवर्तमान मेयर उपमेयर हुन्। 

निर्वाचन अधिकृत शारदा रिजालका अनुसार मेयरमा १० र उपमेयरमा २२ जनाको उम्मेदवारी परेको छ। गोदावरीको नगर भवनमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेरसम्म पनि मनोनयन गर्नेको घुइँचो लागेको थियो। मेयरका उम्मेदवार रानाले नगरको समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए। 

गोदावरीकै मेयरका लागि राप्रपाबाट राजकुमार महर्जनले मनोनयन दर्ता गरेका छन्। एकीकृत समाजवादीका तर्फबाट नगरपालिकाका मेयरका पूर्व प्रतिस्पर्धीसमेत रहेका श्यामकृष्ण सिलवालले उपमेयरमा दावेदारी प्रस्तुत गरेका हुन्।

कोन्ज्योसोम गाउँपालिकामा अध्यक्षमा तीनजना र उपाध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ। निर्वाचन अधिकृत देवकुमारी चौधरीका अनुसार प्रमुखमा एमालेका कृष्णमान लामा, गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गोपीलाल सिंङ्तान र राप्रपाका मानबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्।उपमेयरमा एमालेकी रनिता तामाङ, कांग्रेसबाट राजनप्रसाद घिमिरे, राप्रपाबाट निर्मला लामा र स्वतन्त्र उम्मेदवार चन्द्र तामाङले मनोनयन दर्ता गरेका छन्। सो गाउँपालिकाका ७१५ जना र दलित महिला सदस्य १० जना छन्। १ र ४ मा दलित महिला सदस्य निर्विरोध भएका छन्। 

यसैगरी महाङ्काल गाउँपालिकामा एमालेले कमला वाइवालाई प्रमुखमा अघि सारेको छ। उनी निवर्तमान उपप्रमुख पनि हुन्। उपप्रमुखबाट प्रमुखमा चुनाव लड्ने ललितपुरकी एक्ली उम्मेदवार हुन्। यसैगरी महाङ्काल गाउपालिका कमिटी अध्यक्ष पुरुषोत्तम हुमागाँइले उपमेयरमा मनोनयन दर्ता गरेका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका गणेश केसीले प्रमुखमा र उपप्रमुखमा डोल्पा गोलेले उम्मेदवारी दिएका छन्। 

महालक्ष्मी नगरपालिकामा एमालेका तर्फबाट मेयरमा हरिगोविन्द श्रेष्ठ र उपमेयरमा वीणा सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनका तर्फबाट प्रमुखमा माओवादी केन्द्रका शिव कट्टेल र उपप्रमुखमा कांग्रेसकी लक्ष्मी मर्हजनले उम्मेदवारी दर्ता गरे। निर्वाचन अधिकृत शारदा फुयाँलका अनुसार मेयरमा ११ र उपमेयरमा ५ जनाको उम्मेदवारी परेको छ। राप्रपाका प्रविन खत्री, एकीकृत समाजवादीका नहकुल थापा र मालेका गणेशप्रसाद तिमल्सिनाले पनि प्रमुखमा उम्मेदवारी दिएका छन्। 

बाग्मती गाउँपालिकामा एमालेबाट नवराज सञ्जेलले प्रमुखमा तथा नमुना दोङले उम्मेदवारी दर्ता गरेका छन्। यहाँ गठबन्धनबाट कांग्रेसका वीरबहादुर लोप्चनले उम्मेदवारी दिए। उपप्रमुखमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामीले मनोनयन दर्ता गराए। सञ्जेलले समृद्ध नेपाल सुखी नेपालीको सपना बाग्मतीवासीको घरदैलोमा पुर्‍याउने एजेण्डा बोकेर उम्मेदवारी दर्ता गराएको बताए। बाग्मतीमा राप्रपाका सानु मर्हजनले पनि मेयरमा उम्मेदवारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.