|

विराटनगर : माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेले विराटनगर महानगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। पाँचदलीय सत्तागठबन्धनको भागबन्डामा मेयरमा कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टीको भाग परेको छ। कांग्रेसबाट प्रमुखका लागि नागेश कोइराला र उपप्रमुखमा जसपाबाट अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएसँगै गठबन्धन इमान्दार नभएको भन्दै उनले सोमबार साँझ उम्मेदवारी दर्ता गराएकी हुन्। मेयर, उपमेयरमा गठबन्धन भए पनि विराटनगरको अन्य वडामा गठबन्धन भएको छैन।

महानगरमा मात्रै गठबन्धन भएको र वडास्तरले गठबन्धनको महसुस गर्न नपाएको भन्दै असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेसँग थाहाखबरकर्मी सुजता लिम्बूले गरेको कुराकानी ।

पाँचदलीय गठबन्धनको विरुद्धमा गएर तपाईंले किन उम्मेदवारी दिनुभयो?

गठबन्धन केलाई भन्ने हो? मेरो बुझाइमा गठबन्धन भनेको त मेयर, उपमेयरदेखि वडासम्म नै सहमति गरेर पाँचदलीय गठबन्धनको साझा उम्मेदवारी उठाउनु भन्ने हो। गठबन्धन त सहयकार्य भन्ने बुझिन्छ नि। यहाँ कांग्रेसको मेयर र जसपाको उपमेयर भयो। तल चाहिँ सबै आ–आफ्नो पार्टीबाट चुनाव लड्ने कुरा देखा पर्‍यो।

आ–आफ्नो पार्टीबाट चुनाव लड्ने हो भनेको गठबन्धनविरुद्ध गएको भन्ने जस्तो अनुभूति भयो। गठबन्धनलाई मिलाउन मेरो उम्मेदवारी हो। गठबन्धन मेयर र उपमेयरमा मात्रै मात्रै होइन‚ १९ वटै वडामा राजनीति दलको हैसियत अनुसारको बन्नुपर्छ भन्ने मेरो धारणा हो। भोट हाल्दा यो मेरो मेयर हो, मेरो उपमेयर हो भन्ने कुरा गठबन्धनका साथीहरूले पनि अनुभूति गर्नुपर्छ भन्ने हो। त्यसको पहल मेयर र उपमेयरमा उम्मेदवारी दिने साथीहरूले गर्नुपर्छ। यहाँ त कांग्रेसका मेयर, र जसपाका उपमेयर, तल एकरूपता छैन। गठबन्धनले गर्दा अलिकति एकपक्षीय जस्तो महसुस भएको कारण हो।

हामीले उम्मेदवारी मनोनयन दर्ता गरिरहँदा गठबन्धनले छलफल गरेर नमिलेको विषय उठाउनुपर्छ भन्ने हिसाबले मैले उम्मेदवारी दिएकी हुँ। संवैधानिक कानुनमा उपमेयर र मेयरमध्ये एकजना महिला हुनपर्छ भन्ने छ। गठबन्धनको नाममा महिलालाई उपेक्षा गरियो। विराटनगरमा १ लाख ३३ हजार मतदातामा ५५ प्रतिशत मतदाता महिला छौँ‚ ती महिलाको नेतृत्व कसले गर्ने? राजनीतिक दलहरूले गठबन्धनका नाममा संवैधानिक अधिकार हटाएपछि महिलाको नेतृत्व गर्ने क्षमतामाथि प्रश्न उठेकाले पनि मैले स्वतन्त्र उम्मेदवारी दिएँ।

गठबन्धन बचाउन उम्मेदवारी दिएको भन्नुहुन्छ‚ तपाईंकै कारण गठबन्धनलाई असर पर्दैन ?

मेरो उम्मेदवारीले गठबन्धनलाई असर पर्दैन। हामीसँग अझै समय छ, गठबन्धनका सबै राजनीतिक दलहरूसँग सहमति हुनुपर्‍यो। विराटनगर महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार कांग्रेस र जसपाका छन्। सबै वडामा गठबन्धनको सम्मानजनक उपस्थिति हुनपर्‍यो। त्यसकारणले छलफल गर्ने एउटा वातावरण बनाउन उम्मेदवारी हो। यसले गठबन्धनलाई कुनै पनि हिसाबले असर गर्दैन। गठबन्धन भयो भने अर्को दललाई चेक एण्ड ब्यालेन्समा ल्याउन सकिन्छ र हाम्रो गठबन्धनभित्रै चुनाव जित्ने आधार हुन्छ। गठबन्धनलाई कमजोर बनाउन होइन प्रतिस्पर्धी फितलो नहोस् भनेर उम्मेदवारी दिएकी हुँ।

अझै पनि समय छ, गठबन्धनमा छलफल भई मिल्ने सम्भावना भए तपाईंको उम्मेदवारी फिर्ता हुन्छ?

म स्वतन्त्र भएर चुनावी मैदानमा होमिने निर्णय गरेकी छु। मैले उम्मेदवारी फिर्ता दिने सोच बनाएकी छैन। म स्वतन्त्रबाट विराटनगर महानगरपालिकाको उपमेयरमा जित्छु भनेर नै अगाडि बढेकी हुँ। गठबन्धनका सबै साथीहरू वडास्तरमा पनि एकरूपता आयो भने हाम्रा तर्फ रोकटोक भन्ने पनि हुँदैन। यसको मतलब मेरो उम्मेदवारी फिर्ता हुन्छ भन्ने होइन।

 तपाईंले जित्ने आधार के?

मैले जित्ने आधार प्रशस्तै छन्। म विराटनगर महानगरपालिकाको चिरपरिचित व्यक्ति हुँ। त्यसमा पनि २०७४ सालको स्थानीय निर्वाचनमा पनि अत्यधिक मत बदर भएर पराजित भएकी हुँ। त्यो वेला म दोस्री भएकी थिएँ। त्यो समयदेखि म विराटनगरको समृद्धि, समुन्नत विराटनगर भन्ने खाका तय गरेर अगाडि बढेकी छु। उपमेयरको हिसाबले सम्हाल्नुपर्ने जिम्मेवारी म गर्नसक्छु र अध्ययनको हिसाबले कानुनकी विद्यार्थी पनि हुँ। त्यसमा पनि विराटनगरको सामाजिक, विकासको आन्दोलनमा विगत २० वर्षदेखि जोडिएकी छु। यस्ता थुप्रै विषय छन् मैले जित्ने आधार।

तपाईं पार्टीकी सचिव‚ गठबन्धनविरुद्धको यो अडानले तपाईंलाई पार्टीले कारबाही गर्‍यो भने के गर्नुहुन्छ ?

म स्वतन्त्र उम्मेदवार उठिसकेपछि मलाई पार्टीले कारबाही गरे पनि केही असर पर्दैन।

वडामा बार्गेनिङ गर्न तपाईंले उम्मेदवारी दिनुभएको चर्चा छ‚ हो?

यो बिल्कुल गलत हो। गठबन्धनको मर्म र भावना र यसलाई सशक्त बनाउन मेरो उम्मेदवारी हो। यसमा वडाको बार्गेनिङ भन्ने नै आउँदैन। देशैभर गठबन्धन छ। विराटनगरमा पनि गठबन्धनको अनुभूति गराउन मेरो उम्मेदवारी हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.