|

काठमाडौं : शुक्रबारदेखि चारवटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। नेपाली फिल्म मन्त्र, बलिउड फिल्म 'हिरोपन्थी २', 'रन वे ३४' र हलिउड एनिमेटेड फिल्म 'द ब्याड गाइज'ले एकसाथ प्रदर्शन थालेका हुन्। 

खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म 'मन्त्र' हिमाली भेगको प्रेमकथामा आधारित रहेको छ। फिल्ममा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिएका छन्। बुधबार भएको प्रिमियर सोमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो। तर, हलमा शो भने निकै कम पाएको छ। मन्त्रले मल्टिप्लेक्समा ८ देखि १२ प्रतिशत मात्रै सो पाएको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएका फिल्म मध्येमा सबैभन्दा धेरै शो 'हिरोपन्थी २' ले पाएको छ। अहमद खानको निर्देशनमा बनेको रोमान्टिक एक्सन फिल्मले २५ देखि ३५ प्रतिशतसम्म शो पाएको छ। फिल्ममा टाइगर श्रफ, नवाजुद्दिन सिद्विकी र तारा सुतारियाको मुख्य भूमिका रहेको छ। टाइगरको डेब्यु फिल्म हिरोपन्थीको सिक्वेलको रुपमा ८ वर्षपछि हिरोपन्थी २ बनेको हो। 

त्यस्तै, अजय देवगनको निर्देशन तथा निर्माण रहेको 'रनवे ३४' पनि उच्च शोका साथ प्रदर्शनमा आएको छ। फिल्मले हलमा २० देखि २२ प्रतिशतसम्म शो पाएको छ। 'रनवे ३४' अजयको निर्देशनमा बनेको तेस्रो फिल्म हो, यसअघि उनले उ मे और हम र शिवाय निर्देशन गरेका थिए जुन व्यवसायिक रुपमा सफल पनि भएका थिए।

थ्रिलर जनरामा बनेको फिल्ममा अजय सहित अमिताभ बच्चन, बमन इरानी, रकुल प्रित सिंह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

अमेरिकामा गत हप्तामा नै प्रदर्शनमा आएको 'द ब्याड गाइज'को प्रदर्शन शुक्रबारदेखि नेपालमा पनि सुरु भएको छ। पेरी पेरिफेलको निर्देशनमा बनेको एनिमेटेड क्राइम कमेडी फिल्ममा साम रकवेल, मार्क मरोन, अक्वाफिना, एन्थोनी रामोस लगायतका कलाकारले आवाज दिएका छन्। 

शुक्रबारदेखि चार वटा नयाँ फिल्म त प्रदर्शनमा आएका छन् तर हलमा दबदबा भने अझै पनि 'केजिएफ च्याप्टर २' कै रहेकाे छ। तेस्रो हप्तामा प्रवेश गरेको फिल्म अझै पनि सबैभन्दा धेरै सोका साथ प्रदर्शन भइरहेको छ। त्यस्तै 'ए मेरो हजुर ४' पनि तेस्रो हप्तामा प्रवेश गरेको छ। केही हलहरूबाट फिल्म उत्रिसकेकाे छ भने भने केही हलमा ८ देखि १० प्रतिशत सोका साथ प्रदर्शन भइरहेकाे छ।

यीबाहेक हलमा 'आरआरआर' र 'फेन्टास्टिक बिस्ट' पनि रहेका छन्। शुक्रबारदेखि 'आरआरआर' पाचौँ हप्तामा प्रवेश गरेको छ भने 'फेन्टास्टिक बिस्ट' चौथो हप्तामा प्रवेश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.