बागीलाई कारबाहीको चेतावनी

|

धनगढी : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास पहिलो प्राथमिकतामा रहेको बताए। धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दे देउवाले यस्तो बताएका हुन्। उनले विकासका लागि पहिलो प्राथमिकता सुदूरपश्चिमलाई दिने बताउँदै यहाँ सबैभन्दा बढी बजेट छुट्याउने दाबी गरे। उनले सुदूरपश्चिमका सबै ठाउँमा धेरै काम गरेको बताए।

‘यो ठाउँ मेरो लागि महत्वपूर्ण ठाउँ हो,’ उनले भने, ‘सुदूरपश्चिमको कारणले म प्रधानमन्त्री भएको हुँ। सबै ठाउँमा मैले काम पनि गरेको छु।’ उनले भारत भएर आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य पनि आफूले गरेको दाबी गरे। ‘तपाईंहरूलाई थाहा छ, यहाँ भारत भएर आउनुपर्थ्यो,’ देउवाले भने, ‘यहाँ २२ वटा पुल बनाए। कर्णाली पारी पनि राति जान नपाउने अवस्था थियो। अहिले राति जान पाउने व्यवस्था मिलाएको छु।’ अब धनगढी–दीपायल फास्ट ट्रयाक मात्रै नभएर तिब्बतसम्म पुग्ने बाटो बनाउने उनले प्रतिबद्धता जनाए।

फरक सन्दर्भमा बोल्दै देउवाले बागी उम्मेदवारलाई नछाड्ने चेतावनी पनि दिएका छन्। कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बागीलाई कारबाहीको चेतावनी दिएका हुन्। एमालेको शासनबाट मुक्त हुन स्थानीय सरकारमा पनि गठबन्धनले जित्न आवश्यक रहेको उल्लेख गर्दै देउवाले यस्तो चेतावनी दिएका हुन्।

‘स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ। मन्तव्यमार्फत पनि हामीले उम्मेदवारी फिर्ता लिएका छौं,’ देउवाले भने, ‘अहिले भन्न चाहन्छु। बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। मान्यता दिइने छैन। अहिले झगडा गर्ने हैन। बागी उठ्दा हामीले पहिले पनि हारेकै हो। अहिले पनि बागी उठेर पार्टी हार्‍यो भने  कुनै पनि हालतमा माफी गरिने छैन।’

कैलालीको कैलारी गाउँपालिकामा यस्तो समस्या रहेको उल्लेख गर्दै देउवाले तुरुन्त उम्मेदवारी फिर्ता लिन आग्रह गरे। फिर्ता नलिए कारबाही हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.