|

कोलम्बो : श्रीलंकामा सोमबार सरकारी समर्थक र विपक्षीबीच भएको झडपमा राजपाक्षे समर्थक एक सांसद र उनका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) को मृत्यु भएको छ।

पोलोन्नारुआ जिल्लाको श्रीलङ्का पोदुजना पेरामुना (एसएलपीपी) का सांसद अमरकीर्ति अतुकोरालालाई पश्चिमी शहर नित्तम्बुआमा सरकारविरोधी समूहले घेरेको प्रहरीले जानकारी दिएको छ। 

मानिसहरूले सांसदको रिभल्भरबाट गोली चलेको दाबी गरेका छन्। आक्रोशित भीडले उनलाई कारबाट निकालेपछि उनी भागेर एउटा भवनमा आश्रय लिन पुगेका थिए। सांसद आफैँले आफ्नो रिभल्भरबाट गोली हानेर  आत्महत्या गरेको मानिसहरूको भनाइ छ।

प्रहरीले सांसद लुक्न गएको उक्त भवनलाई हजारौं मानिसहरूले घेराबन्दी गरेका थिए र पछि सांसद र उनका व्यक्तिगत सुरक्षाकर्मी मृत फेला परेका थिए।
प्रधानमन्त्री महिन्दा राजपाक्षेका समर्थकहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका व्यक्तिमाथि आक्रमण गरेपछि देशभर हिंसा भड्किएको छ।

राजधानीबाट फर्केका राजपाक्षे समर्थकहरूप्रति मानिसहरूले आफ्नो आक्रोश पोख्न थालेका छन्। तिनीहरूले राजपाक्षे समर्थकहरूका गाडी रोके र थुप्रै शहरमा आक्रमण गरे।

राष्ट्रपति कार्यालय अगाडि सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि  आफ्ना समर्थकहरूले आक्रमण गरेको केही घण्टामै प्रधानमन्त्री महिन्दा राजपाक्षेले आफ्नो पदबाट राजीनामा दिएका थिए। यस आक्रमणमा कम्तीमा पनि १७४ जना घाइते भएका थिए। घटनापछि देशव्यापी कर्फ्यू लगाइएको छ र राजधानीमा सेना तैनाथ गरिएको छ।

सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको  श्रीलंका अहिले सबैभन्दा खराब आर्थिक अवस्थामा फसेको छ। यो संकट विदेशी मुद्रा सञ्चितिको अभावले उत्पन्न भएको छ। यसको अभावमा खाद्यान्न, इन्धन लगायतका वस्तु आयात गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.