डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने आश्वासन

|

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजनाका लागि भारतसँग कुरा भइरहेको बताएका छन्। उनले चिनियाँ कम्पनीले पश्चिम सेती बनाए भारतले बिजुली नकिन्ने खुलासा गरेका छन्। 

मंगलबार डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतको सहयोग लिनुपरेको बताएका हुन्। 

उनले पश्चिम सेती निर्माणका लागि छिटै भारतसँग सम्झौता हुने पनि बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका वेला सम्भव भएसम्म सम्झौतापत्रमा हस्ताक्षर हुने उनको दाबी छ। 

‘मोदीजी बुद्ध पूर्णिमाका दिन लुम्बिनी आउँदै हुनुहुन्छ। त्यहाँ उहाँसँग मेरो भेट हुँदै छ। भरसक त्यहीँ राम्रो भारतीय कम्पनीसँग सम्झौता गर्छौं’, उनले भने, ‘भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिँदा हामीलाई फाइदा नै हुन्छ।’ 

उनले जलाशययुक्त परियोजना भएकाले सुक्खा मौसममा पनि पानीबाट बिजुली तान्न सकिने बताए। जसले गर्दा लोडसेडिङ नहुने उनको दाबी छ। 

उनले यसअघि पनि पञ्चेश्वर र महाकाली परियोजना ल्याएको स्मरण गराए। पछि आफ्नो सरकार ढलेकाले अरूले मतलब नै नराखेको उनको आरोप थियो। देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको उनको दाबी छ।

‘महाकाली, पञ्चेश्वर ल्याएको थिएँ तर पछि मेरो सरकार ढल्यो। अरूले मतलब नै राखेनन्’, उनले भने, ‘देशको विकास गर्ने पार्टी भनेको कांग्रेस मात्रै हो, अरूले विकास गर्ने गफ गर्छन् तर काम कहीँ गर्दैनन्। महाकाली, पञ्चेश्वर ल्याएर छोड्छु भन्ने विश्वास दिलाउँछु।’

डडेल्धुरालाई प्रदेशको राजधानी बनाउने आश्वासन

प्रधानमन्त्री देउवाले डडेल्धुरालाई सुदूरपश्चिम प्रदेशको राजधानी बनाउने आश्वासन दिएका छन्। गृहजिल्लामा विमानस्थल र सिटीहल निर्माण गर्ने बताउँदै उनले प्रदेशको राजधानी पनि डडेल्धुरा नै बनाउने बताए।

डडेल्धुरामा संरचना नहुँदा राजधानी बनाउने भनेर दिएको वाचा पूरा गर्न नसकेको उल्लेख गर्दै उनले अब डडेल्धुरालाई राजधानी बनाउने तर्क गरे।

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ। पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरू (सभाहल)समेत थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन’, देउवाले भने, ‘अब संरचनाहरू निर्माण गर्छौ। सभाहल बनायौं। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’

अहिले प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकिएको छ। 

कांग्रेसका सबै उम्मेदवारलाई जिताए डडेल्धुरामा प्रदेश राजधानी बनाउन सकिने देउवाको भनाइ छ। यसका साथै प्रधानमन्त्री देउवाले डडेल्धुराको पुइलेकमा विमानस्थलको काम अगाडि बढेको र चाँडै निर्माणको काम थालिने पनि बताए।

नीतिगत निर्णय भइसकेकाले उल्लेख गर्दै उनले डडेल्धुरामा मेडिकल निर्माण पनि गरिने बताए। सोमबार गृहजिल्ला पुगेका देउवा मतदान गरेर मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.