|

काठमाडौं : नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा आर्थिक चलखेल भएको आरोप लगाएको छ। 

एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्रीहरूले मौन अवधिमा आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्। 

प्रचण्डसहित महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रवाह नगरी सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिका मतदाताको घर घरमा पुगी प्रभावमा पार्ने काम गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्। 

मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकोले आवश्यक छानविन गर्न माग गरेको छ। 

भोलि हुने निर्वाचनको ४८ घण्टे मौन अवधिको समयमा राज्य सञ्चालनको जिम्मा लिएका भनिएकाहरूबाटै नेपालको संविधान, नियम, कानुनलाई मिच्दै निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन भइरहेको दृष्यले गम्भीर ध्यानाकर्षणसमेत गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको उच्च तहमा रहेका व्यक्तिहरुबाट नै यस प्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको  छ। आचारसंहिता गम्भीर उल्लङ्घन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ।’

चितवनको भरतपुर महानगरको प्रमुखमा प्रचण्डकी छोरी रेनु दाहाललाई गठबन्धनले फेरि उम्मेदवार बनाएपछि चर्चा छ। गठबन्धनविरुद्ध कांग्रेसबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन्। यता, एमालेले राप्रपा र राप्रपा नेपालको आडमा विजय सुवेदीलाई अघि सारेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.