|

काठमाडौं : मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोलखाको तामाकोशी गाउँपालिका-१ को वडा कार्यालयस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण भैरहँदा बुधबार काफ्लेले सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट १२५ थान परिचयपत्र खोसेर भागेका थिए।

मतदाता परिचयपत्र खोसेर भागेका निवर्तमान अध्यक्ष काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार काफ्लेलाई निर्वाचन कसुरअन्तर्गत कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

यसैगरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधेको छ। ९ ओटा घटनामा सचेत र एउटा घटनामा ध्यानाकर्षण गराएको आयोगले जनाएको छ। मौन अवधिका क्रममा ठूला पार्टीका शीर्ष नेतादेखि बहालवाला मन्त्री र उमेदवारहरूबाटै आचारसंहिता उल्लघंन भएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए।

आयोगका अनुसार मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी गतिविधि गर्ने नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.