काठमाडौं : ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा भएका छन्।
नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो।
पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), आरएसएफ, युएई पत्रकार संघ, आइएफजे मिडिलिष्टलगायतले उनको रिहाइका लागि सहयोग गरेका थिए। महासंघले युएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो।
पत्रकार महासंघका महासचिव रोशन पुरीले रिहाइमा सहयोग गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई धन्यवाद दिए। घटनामा संलग्न दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तत्काल कारबाही गर्न माग गर्नुभएको छ । रिहा भएपछि फोन गरेर पाण्डेले महासंघलगायत आफ्नो रिहाइका लागि पहल गर्ने सबै व्यक्ति, संघसंस्थालाई धन्यवाद दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।