|

सर्लाही : धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलस्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान केहीबेर अघि सूरु भएको छ।

 त्यहाँ पटक–पटक झडप भइरहेकाले बिहान ८ बजेदेखि अवरुद्ध मतदान कार्य पौने ३ बजेसम्म हुन सकेको थिएन।

मतदान केन्द्रमा नेपाली सेनालाई नै पहिलो घेरामा राखेर अहिले दिउँसो ३ बजेबाट मतदान कार्य सुचारु गराइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। अब ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गरिसक्ने मतदाताले मतदान गर्न पाउनेछन्।

‘अब साँझ ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गर्नेलाई मतदान गराइने छ’, प्रजिअ गौतमले भने, ‘अब जति मत खस्छ–खस्छ मतदान त गराउनै पर्‍यो।’

त्यहाँ पहिला आ–आफूमा विवाद र झडपमा उत्रिएका विभिन्न राजनैतिक दलका कार्यकर्ताहरु सुरक्षाकर्मीले बल प्रयोग गरेपछि भने संयुक्त रुपमा उनीहरु सुरक्षाकर्मीमाथि नै ढुंगामुढा सहितको आक्रमणमा उत्रिएका थिए।

आज बिहान १५-२० जना जतिले मतदान गरेपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भएको थियो। विवाद बढ्दै गएर झडप नै हुन थालेपछि सुरक्षाकर्मीले मतदान स्थल नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको थियो। अश्रु ग्याँसले पनि स्थिती नियन्त्रणमा नआएपछि सुरक्षाकर्मीले हवाई फायर नै गरेका थिए।

दर्जनौं राउण्ड अश्रु ग्याँस र गोली प्रहार गरेपनि स्थिती नियन्त्रणमा नआएपछि मतदान स्थलबाट सुरक्षाकर्मी र निर्वाचनमा खटिएका मतदान अधिकृतसहितको टोली निर्वाचन सामग्री बोकेर निर्वाचन अधिकृतको कार्यालय धनकौल गएको थियो। उनीहरु गए लगत्तै प्रदर्शनकारीहरूले मतदान स्थलमा आगलागी समेत गरेका छन्।

केहीबेर अघि पुनः निर्वाचनका कर्मचारीहरु उक्त मतदान स्थलतर्फ मतदान कार्य सुचारु गराउन गएका हुन्। स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि सरकारले पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम अर्थात मतदान स्थल भन्दा निकै टाढा तेस्रो घेरामा नेपाली सेनाका सुरक्षाकर्मी खटाएको छ। तर उक्त मतदान स्थलमा भने अब नेपाली सेनालाई नै पहिलो घेरामा राखेर अर्थात मतदान स्थललाई सेनाको नियन्त्रणमा राखेर मतदान कार्य सुचारु गराइएको छ। धनकौलका निर्वाचन अधिकृत शिवदत्त बरालले पहिलो घेरामा नै नेपाली सेनालाई खटाएर मतदान सुचारु गराइएको जानकारी दिए।

जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरुमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ। केही मतदान स्थलहरुमा भने पटक–पटक विवाद एवं झडपहरू भएपनि केही बेर अवरुद्ध हुदै पुनः मतदान सुचारु भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.