|

कञ्चनपुर : पुनर्वास नगरपालिका-१० मा पुनः मतदान हुने भएको छ।

फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद भएपछि आज दिउँसो १२ बजेदेखि मतदान स्थगित भएको थियो। मुख्य निर्वाचन अधिकृत मदन धामीका अनुसार मतदान पुनः शुरु गर्नेबारे छलफल निष्कर्षमा पुग्न नसकेपछि मतदान स्थगित भएको हो।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४० बमोजिम हुलदंगा भई असामान्य स्थिति सृजना हुँदा मतदान स्थगित भएको बताइएको छ। निर्वाचन आयोगको निर्णयअनुसार पुनः मतदान हुनेछ।

मतपेटिका मतगणना स्थलमा ल्याइँदै

कञ्चनपुरमा स्थानीय तहको सम्पन्न निर्वाचनका मतपेटिका मतगणना स्थलमा ल्याउन शुरु गरिएको छ। यहाँका नौवटै पालिकामा मतगणना केन्द्र बनाइएका छन्।

‘केही मतपेटिका मतगणना स्थलमा पुर्‍याइसकिएको छ’‚ मुख्य निर्वाचन अधिकृत मदन धामीले भने‚ ‘केही ल्याउने क्रम जारी छ। मतपेटिका पुगेपछि मात्रै मतगणनाका लागि समय निर्धारण गरिनेछ।’ मतपेटिका पुर्‍याएसँगै मतदान अधिकृतले खसेको मतको विवरण समेत बुझाइरहेका छन्।

‘कति मत खस्यो भन्नेबारे यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन। ६५ प्रतिशत मतदान भएको अनुमान गरेका छौं’‚ अधिकृत धामीले भने। उनका अनुसार कुनै पालिकामा ५५ प्रतिशत मतदान भएको छ भने कुनैमा ७८ प्रतिशत मतदान भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.