|

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकाबाहेक अरु सवै स्थानीय तहमा शनिवार विहानदेखि मतगणना सुरु भएको छ।

जिल्लाको एउटै मात्र नगरपालिका बेनी नगरपालिकामा बिहान १०:३० बजेदेखि मतगणना सुरु भएको हो। म्याग्दीमा प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले बेनी नगरपालिका १ रत्नेचौरको मतपेटिकाबाट मत खन्याइ गणनाको सुरुवात गरे।

यसैगरी जिल्लाका मालिका,मंगला,रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पनि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। कार्यालयका प्रमुख भीमप्रसाद घिमिरेका अनुसार भौगोलिक विकटताका कारण धबलागिरि गाउँपालिकाको गुर्जाबाट मतपत्र पालिकाको केन्द्र मुनामा आइनपुगेकोले त्यहाँको मतगणना सुरु हुन सकेको छैन।

जिल्ला निर्वाचन कार्यालयका अनुसार शुक्रबार सम्पन्न मतदानमा म्याग्दीबाट ६६ प्रतिशत मत खसेको छ। बेनी नगरपालिका सहित पाँच वटै गाउँपालिकामा कुल मतदाताको ५६ हजार ५४३ मत खसेको छ। जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना रहेको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।

म्याग्दी जिल्लामा जम्मा ७४ ओटा मतदानस्थल र १ सय १४ ओटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका थिए । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावमा उठेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.