|

पर्वत : कास्कीका माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्।
अध्यक्ष पदमा कांग्रेसका मीन बहादुर गुरुङले एमालेका विक्रम गुरुङलाई चार सय ८२ मतको अन्तरमा पराजित गरेका छन्। मीनबहादुरको पक्षमा सात हजार ९९ मत पर्दा विक्रमको पक्षमा छ हजार छ सय १७ मत परेका छन्। सोही पदमा प्रतिस्पर्धा गरेका मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार डम राज मगरले भने २२ मत पाएका छन्।

उपाध्यक्ष पदमा पनि कांग्रेसकी सिता अधिकारीले एमालेकी सिता तिवारीलाई चार सय २५ मतको अन्तरमा पराजित गरेकी छिन्। अधिकारीलाई छ हजार तीन सय ७६ मत आउँदा तिवारीको पक्षमा पाँच हजार नौ सय ५१ मत परेका छन्। उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले नौ सय ७३, नेकपा (एकीकृत समाजवादी) का असीम गुरुङले पाँच सय ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा थापा मगरले दुई सय २५ मत पाएकी छिन्।

गाउँपालिकाको वडाध्यक्षमा वडा–१ मा कांग्रेसका इन्द्र गुरुङ (६२२), वडा–२ मा कांग्रेसका गणेश आचार्य (१०५७), वडा–३ मा हरि चन्द्र लम्साल (९३४), वडा–४ मा कांग्रेसका मधुसूदन अधिकारी (१३२८), वडा–५ मा कांग्रेसका नारायण प्रसाद पौडेल (५७७), वडा–६ मा एमालेका टेकनाथ गौतम (९८३), वडा–७ मा माओवादीका वैकुण्ठ प्रसाद भण्डारी (४८६), वडा–८ मा कांग्रेसका रामबहादुर गुरुङ (८५२) र वडा–९ मा कांग्रेसका हरिबहादुर क्षेत्री (५४४) विजयी भएका छन्।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादीले जित हात पारेको थियो। उक्त निर्वाचनमा पाँच हजार छ सय सात मतको साथमा कर्ण बहादुर गुरुङ अध्यक्षमा र पाँच हजार चार सय ७९ मत सहित कृष्ण कुमारी पौडेल दवाडी उपाध्यक्षमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.