|

काठमाडौं : नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ। गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ।

प्राज्ञिक एवं विकास प्रेमी नेताका रुपमा सुपरिचित घनश्याम गिरी कांग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन भने वडा नं. १, ३, ४, ७, ८, ९, ११,  १३ र १५ मा कांग्रेसले  विजय हाँसिल गरेको छ।

नवनिर्वाचित नगर प्रमुख गिरीले १५ हजार ४७५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उत्तम बहादुर रावतले १४ हजार ६५१ मत प्राप्त गरेका छन्। उनी वडा नं १५ का निवर्तमान वडाध्यक्ष  पनि हुन्।

कांग्रेसका तर्फबाट नवनिर्वाचित  वडाध्यक्ष  वडा नं १ मा हरिश्याम राना मगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रह्लाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ  १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल रहेका छन्।

नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापतिसमेत छन्। निर्वाचित भएपछि उनले भने, 'निर्वाचनका समयमा नगरवासी समक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु। यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्नेछु।'

'कृषि उत्पादन, रोजगार र बजारीकरण  प्रविधि युक्त सुशासन’ भन्ने चुनावी नाराका साथ उनी निर्वाचनमा होमिएका थिए। उनकाे मार्ग चित्रमा सुशासन एवं सूचना मैत्री नगर बनाउने, उत्पादन प्रवर्धन र प्रोत्साहन गर्ने, प्राविधिक शिक्षालय र तालिम केन्द्र स्थापना गर्ने, प्रविधिमैत्री शिक्षामा जोड, गुणस्तरीय स्वास्थ सेवा, सफा र रमणीय वातावरण, पर्यटन, धर्म, संस्कृति, कला र गुठी संरक्षण लगायतका छन्।

काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँ विकास समिति मिलाएर बनाइएको चन्द्रागिरिको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ।

निर्वाचन आयोगका अनुसार  निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकोमा यस पटकको निर्वाचनमा  ३६ हजार ७१२ ले मतदान गरेका थिए। यस पटकको निर्वाचनमा २२ मतदानस्थल ५६ मतदान केन्द्र तोकिएको थियो  ।

विसं २०७४ जेठमा सम्पन्न  स्थानीय तहको निर्वाचनमा ३८ हजार ८३६ मतदाता थिए। सो  निर्वाचनमा १३ हजार ३०९ मत प्राप्त गरी कांग्रेसका नेता गिरी मेयर पदमा निर्वाचित भएका थिए। कांग्रेसले सो निर्वाचनमा चन्द्रागिरिका वडा नं ३, ४, ७, १२ र १४ मा वडाध्यक्ष पद आफ्नो पक्षमा ल्याएको थियो।

कांग्रेस चन्द्रागिरि नगर समितिका उपसभापति राजेन्द्र विक्रम बानियाँ एवं नवीन महर्जनले नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारलाई चन्द्रागिरि नगरपालिकाको नेतृत्व गर्न आफ्नो अमूल्य मतदान गर्नुहुने सबै नगरवासीलाई धन्यवाद दिएका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.