|

काभ्रे : काभ्रेमा नवनिर्वाचित पालिका प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार जिल्लाको धुलिखेलमा मुख्य निर्वाचन अधिकृतबाट नवनिर्वाचित नगर तथा गाउँपालिका प्रमुखहरूले शपथ ग्रहण गरेका हुन्। 

काभ्रेका १३ स्थानीय तहमध्ये १० पालिकाका प्रमुखहरू चुनिइसकेका छन् भने धुलिखेल नगरपालिका, पाँचखाल र महाभारत गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुन सकेको छैन। ती पालिकाको केही वडाको मत गणना जारी छ। 

काभ्रेका मुख्य जिल्ला निर्वाचन अधिकृतले शपथ खुवाएका छन्। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, भुम्लु गापाका अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत्’, चौरीदेउराली गापाकी अध्यक्ष रेणुका चौलागाईं, मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा, रोशी गापाको अध्यक्ष दिनेश लामा लगायत पालिकाका नवनिर्वाचित प्रमुखहरुले शपथ लिए।

नयाँ जनप्रतिनिधिको शपथसँगै कार्यपालिकाका निर्वाचनका कार्यक्रम शुरु भएका छन्। नयाँ निर्वाचनसँगै कार्यपालिकाका पदाधिकारीको पनि कार्यकाल स्वतः समाप्त भएको छ। 

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.