|

सल्यान : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सल्यानका सबै पालिकाको नतिजा सार्वजानिक भएको छ। जस अनुसार कांग्रेस पहिलो माओवादी केन्द्र र नेकपा एमाले दोस्रो भएका छन् भने एकीकृत समाजवादी तेस्रो भएको छ।

तीन नगरपालिका र सात गाउँपालिका गरी जम्मा १० पालिका रहेको सल्यानमा कांग्रेसले पाँच, माओवादी केन्द्र र एमाले दुई/दुई र एकीकृत समाजवादी एक स्थानमा प्रमुख एवं अध्यक्ष जित हाँसिल गरेकाे छ।

उपमेयर/उपाध्यक्ष पदमा भने माओवादी केन्द्र पहिलो भएको भने कांग्रेस एमाले दोस्रो भएका छन्। माओवादी केन्द्रले चार स्थानमा उपमेयर एवं उपाध्यक्ष जितेको छ भने नेपाली कांग्रेस र नेकपा एमालेले तीन/तीन स्थानमा उपमेयर एवं उपाध्यक्ष जितेका छन्।

सल्यानको शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकामा मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ। छत्रेश्‍वरी र कालिमाटी गाउँपालिकामा एमालेले अध्यक्ष/उपाध्यक्ष दुवै जितेको छ।

माओवादी केन्द्रले भने दार्मा गाउँपालिकामा मात्र अध्यक्ष उपाध्यक्ष दुवै सिट जितेको हो। बागचौर नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर माओवादी केन्द्रले जितेको छ। वनगाड कुपिण्डे नगरपालिकामा मेयर माओवादी केन्द्र र उपमेयर नेपाली कांग्रेसले जितेको छ।

वनगाड कुपिण्डे नगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको समीकरण भएको थियो।

यस्तै कुमाख गाउँपालिकामा कांग्रेसले अध्यक्ष र नेकपा एमालेले  उपाध्यक्ष जितेका छन्। त्यहाँ कांग्रेस र एमालेको समीकरण भएको थियो। यस्तै सिद्ध कुमाख गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ। त्यहाँ एकीकृत समाजवादी र माओवादी केन्द्रले समीकरण गरेका थिए। समाजवादीले अध्यक्षमा कांग्रेससँग पराजित भएको थियो भने माओवादी केन्द्रले उपाध्यक्ष जित हाँसिल गरेको थियो।

कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीले अध्यक्षमा जित हाँसिल गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले जितेकाे छ। त्यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीको समीकरण भएको थियो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पहिलो भएको एमाले भने पार्टी विभाजन हुँदा अहिले दोस्रो स्थानमा खुम्चिएको छ।

यस्तै वडामा पनि नेपाली कांग्रेस पहिलो भएको छ। सल्यानमा ८३ वटा वडा रहेकोमा नेपाली कांग्रेस पहिलो माओवादी केन्द्र दोस्रो, एमाले तेस्रो, एकीकृत समाजवादी चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ भएका छन्। कांग्रेस ३१, माओवादी केन्द्र २७, एमाले २१ समाजवादीले ३ र राप्रपाले १ वडामा जित हाँसिल गरेका छन्।

कांग्रेसले शारदा नगरपालिकामा ८, सिद्ध कुमाख गाउँपालिकामा ३, कुमाख गाउँपालिकामा ३, वनगाड कुपिण्डे नगरपालिकामा २, छत्रेश्वरी गाउँपालिकामा २, कालिमाटी गाउँपालिकामा १, कपुरकोट गाउँपालिकामा १, त्रिवेणी गाउँपालिकामा  ५ र बागचौर नगरपालिकामा ६ गरी जम्मा ३१ वडा जित्दै पहिलो भएको  छ।

यस्तै माओवादी केन्द्रले दार्मा गाउँपालिकामा ६, शारदा नगरपालिकामा १, बागचौर नगरपालिकामा ३, वनगाड कुपिण्डे नगरपालिकामा ७, कुमाख गाउँपालिकामा ४, सिद्ध कुमाख गाउँपालिकामा २, कालिमाटी गाउँपालिकामा १, कपुरकोट गाउँपालिकामा २ र छत्रेश्‍वरी गाउँपालिकामा १ गरी जम्मा २७ वडा जित्दै दोस्रो भएको छ।

नेकपा एमालेले शारदा नगरपालिकामा ५, बागचौर नगरपालिकामा २, वनगाड कुपिण्डे नगरपालिकामा २, छत्रेश्‍वरी गाउँपालिकामा ४, कालिमाटी गाउँपालिकामा ५, कपुरकोट गाउँपालिकामा २ र त्रिवेणी गाउँपालिकामा १ गरी जम्मा २१ वडामा विजयी भएको छ। एकीकृत समाजवादीले शारदा नगरपालिकामा १, वनगाड कुपिण्डे गाउँपालिकामा १ र बागचौरमा १ गरी जम्मा ३ वडा जित्दै चौथो भएको छ।

भने राष्ट्रिय प्रजातन्त्र पार्टीले कपुरकोट गाउँपालिका १ वडा जिती पाँचौ स्थान हाँसिल गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.