|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–१ पाङकी स्वस्थानी रिजाल मिडियामा छाउन थालेको धेरै भएको छैन। कोभिड–१९ को पहिलो चरणको बेलामा उनी आफैँ व्यवस्थापन समितिको अध्यक्ष रहेको पाङ धैरेनी मा.वि पनि बन्द अवस्थामा रहेको थियो। केही पर रहेको एउटा निजी विद्यालयहरू पनि बन्द अवस्थामा रहेको थियो।

सामुदायिक विद्यालयको अभिभावकत्व लिएकी उनले विद्यालय बन्द भएपछि गाउँका बालबालिकाहरूलाई आफ्नै घरमा बोलाएर अध्यापन गर्न थालिन्। जुन विद्यालयमा अध्ययन गरे पनि सबै बालबालिका आफ्नै समाजका हुन भन्ने सोच भएकी उनले निजी विद्यालयका विद्यार्थीहरूलाई पनि घरमै बोलाएर अध्यापन गरिन्।

मध्यपहाडी लोकमार्ग छेउमा ‘बटुवा रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएकी उनले आफ्नो व्यवसायलाई भन्दा धेरै समय विद्यालयका लागि दिन थालिन।

आफ्नो नेतृत्वमा रहेको विद्यालयलाई अब्बल बनाउने, गुणस्तरीय शिक्षाको खोजीमा सहर पुगेकाहरूलाई गाउँमै फर्काउने, विद्यालयमा धेरै अक्षयकोषहरू स्थापना गरेर बालबालिकाहरूलाई सक्दो सहयोग गर्ने लगायतका कामका कारण चर्चामा रहेकी उनी अहिले एकाएक कुश्मा नगरपालिकाको उपप्रमुख बनेकी छिन्।

उनको घर भएको पाङ क्षेत्र माता पार्वतीको जन्मभूमि भएको विश्वास रही आएको छ। हिमालय पुत्री पार्वतीको जन्म भएको पाङलाई पवित्र भूमि र ज्योतिष विद्याको केन्द्रको रूपमा पनि लिइन्छ।

जनकपुर जसरी सीता जन्मभूमिको रूपमा प्रसिद्ध छ पार्वतीको जन्मभूमि पाङ भने सधैँ ओझेलमा छ। त्यति मात्रै होइन पाङ र खुर्कोटलाई राजनीतिकको निर्णायक शक्तिको रूपमा लिने गरिन्छ। तर नेतृत्वमा पुग्ने वा दलको नेतृत्व गर्ने राजनीतिज्ञहरू त्यही ठाउँमा निकै कम छन्। यही बिचमा नागरिकको चाहना पूरा गर्ने लक्ष्यका साथ नेकपा एमालेबाट उम्मेदवार बनेकी स्वस्थानी निर्वाचित पनि भएकी छिन्।

पर्वतमा सबैभन्दा बढी मतदाता रहेको पाङबाट उठेको नेतृत्वले जिल्ला र कुस्मा नगरमा नेतृत्व गर्ने अवसर कमै पाएका छन्। अहिलेसम्म अरूलाई मत दिएर जिताउँदै आएको त्यही पाङमा बुहारी बनेर आएकी उनको जितले  पाङको विकासमा सहयोग पुग्ने पाङवासीको विश्वास छ।

यही कारण पनि उनलाई ‘माता पार्वतीको जन्मभूमिबाट  उदाउँदै गरेकी नेतृ’ को रूपमा गाउँलेले स्वागत र सम्मान पनि गरिरहेका छन्।

गठबन्धन अन्तर्गत नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शङ्कर गिरीलाई पराजित गर्दै उनी उपप्रमुख बनेकी हुन्। गठबन्धनका तर्फबाट नगर प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशी ७९८ मतान्तरले विजयी हुँदा एमालेकी रिजालले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गिरीलाई ८१० मतान्तरले पराजित गर्न सफल भइन्।

 ‘पाङबाट पहिलोपटक कुस्मा नगरको नेतृत्वमा पुग्ने अवसर प्राप्त भएको छ। यस क्षेत्रको विकासका लागि मेरो उपस्थिति पनि आवश्यक मान्नुभएको होला,’ उनी भन्छिन्, ‘नगरपालिकावासीले मलाई जिताउनु भनेको उहाँहरूको समस्या समाधान गर्नको लागि मेरो काँधमा जिम्मेवारी थपिएर आउनु हो। म जे कामका लागि निर्वाचित भएकी छु त्यो पूरा गर्नको लागि प्रतिबद्ध छु।’

स्थानीय पाङ धैरेनी माविको दुई वर्षअघि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिएपछि स्वस्थानी रिजाल सामाजिक र शैक्षिक सुधारको अभियानमा जोडिएकी थिइन। छोटो समयमा नै आफ्नो नेतृत्वमा विद्यालयमा भौतिक र शैक्षिक सुधार गरेर विद्यालयलाई नमुना बनाउन सफल भएसँगै उनी राजनीतिक रूपमा सक्रिय हुन थालिन्।

विद्यालयका बालबालिकादेखि गाउँलेले पनि आजभोलि उनलाई ‘स्वस्थानी आमा’ को रूपमा लिने गर्छन्।

विद्यालयमा असल अभिभावकत्व निर्वाह गरिरहेकी उनी नगर उपप्रमुख बनेपछि विद्यालयमा उनको भूमिका अभाव हुने तथा विद्यालयमा गुणस्तर कायम गर्न सङ्घर्षरत एउटा प्रयासको अभाव हुन सक्ने चिन्तामा विद्यालयका शिक्षक र विद्यार्थी छिन्।

फुर्सदको सबै समय विद्यालयमा गएर अध्यापन गर्ने, सबैलाई आफ्नै सन्तानजस्तै माया गर्ने रिजालले बालबालिकादेखि अभिभावकसम्म मन जितेकी थिइन्। विद्यालयको लागि पहिलेको भन्दा अहिलेको भूमिका झनै प्रभावकारी हुने र आफूले गरिरहेको प्रयासमा अब थप बल पुग्ने रिजाल बताउँछिन्।

‘मलाई विद्यालयमा पुगेर बालबालिकासँग रमाउँदा र समाज सुधारका लागि खट्दा नै बढी आनन्द आउँछ।’ उनी भन्छिन्, ‘समाज र शिक्षामा सुधार गर्नका लागि पनि नेतृत्वमा नपुगेसम्म सम्भव रहेनछ भनेर राजनीति तर्फ पनि आकर्षित भएकी हुँ।’

अब पूर्वाधारका ठूला योजनासँगै महिला हिंसा न्यूनीकरण, आमा सुरक्षा कार्यक्रम तथा विद्यालयको आधारभूत तहदेखि नै शैक्षिक सुधारका योजनाहरू अघि बढाउने योजना आफूले सोचिरहेको स्वस्थानी बताउँछिन्।

न्यायिक समितिलाई क्रियाशील बनाउँदै टोल–टोलमा मेलमिलाप समिति बनाउने, सुत्केरी र दुर्गम क्षेत्रका बासिन्दालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना आफूमा रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.