फेरि मेलम्ची खानेपानी बन्द गर्ने तयारी

|
काठमाडौंको कालोपुलमा खानेपानी वितरणका लागि जडान गरिएको पाइपबाट चुहिइरहेको पानी।

काठमाडौं : काठमाडौं उपत्यकावासीको सबैभन्दा ठूलो समस्या हो– खानेपानी नहुनु। जति बस्ती बसालिँदै गएको छ, उत्ति नै पर्याप्त मात्रामा पानीको उपभोग उपत्यकावासीले गर्न पाएका छैनन्। विभिन्न ठाउँको स्रोतबाट जुटाएको खानेपानी चुहावट हुँदा सडक जलमग्न हुन्छ। यता उपत्यकावासी खानेपानीको समस्याको मारमा छन्। 

बाढीले क्षति पुगेको १० महिनापछि काठमाडौं उपत्यकाभित्र पुनः मेलम्ची खानेपानी वितरण गरिएको छ तर ठाउँ ठाउँमा पानी चुहिएको छ। अहिले पनि चावहिलस्थित कालोपुल, चावहिल चोक, गोकर्णको हनुमान चोक अगाडि लगायत सडकका विभिन्न ठाउँमा पानी चुहिएको छ तर मर्मत गरिएको देखिँदैन।

कालोपुलका स्थानीय बासिन्दा विनोद अधिकारीले दैनिकजसो पाइपबाट पानी चुहावट भएको बताए। उनले भने, ‘यो पाइपबाट २०/३० घरलाई पुग्ने पानी चुहिन्छ, करिडोर नै जलमग्न हुँदा सवारीसाधन ओहोरदोहोर गर्न नै समस्या हुन्छ।’

सम्बन्धित निकाय यस्ता चुहावट भएका ठाउँमा मर्मत नगर्दा खानेपानीको समस्या भएको उनले बताए। ‘खानेपानी जति सडकमा बग्छ, उपत्यकावासीले पानी पिउन पाएका छैनन्,’ उनले भने, ‘जारको पानी किनेर खानुपर्छ, मर्मत भयो भने त धेरैलाई सहज हुने थियो।’

चुहावट मर्मत गरिरहेका छौँ : केयुकेएल

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राई भने खानेपानी चुहावटको मर्मत गरिरहेको दाबी गर्छन्। उनले भने, ‘पुरानै पाइपलाइनबाट खानेपानी वितरण गरिएको छ। त्यसैले केही ठाउँमा चुहावट भएको हुनसक्छ तर हामीले सडक विभागसँग स्वीकृति लिएर बनाइरहेका छौँ।’
केही ठाउँमा मर्मत गर्दै जाँदा ढिलाइ भए पनि मर्मत गर्ने उनको भनाइ छ। 

प्रवक्ता राईका अनुसार बाढीको क्षति मर्मतपछि अहिले क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी ल्याएर उपत्यकाभित्र वितरण गरिएको छ। दुई/तीन दिनसम्म दिन बिराएर पानी वितरण गरिएको छ।

भक्तपुरमा भने हिजो (बिहीबार) पानी वितरण परीक्षण शुरु गरिएको छ। केही दिनपछि ५ हजारभन्दा बढी ग्राहकलाई मेलम्ची खानेपानी वितरण गरिनेछ। केयुकेएलका २ लाख ३८ हजार ग्राहक छन्।

मेलम्ची पानी बन्द गर्न छलफल चल्यो

खानेपानी आयोजना शुरु भएको दुई दशकपछि २०७८ चैत १५ मा पहिलोपटक उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो तर गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो। 

१० महिनासम्म उपत्यकामा पानी नआउँदा उपभोक्ताले धेरै समस्या भोग्न बाध्य भए। गत वैशाख ११ गतेदेखि पुनः क्षति मर्मत गरी पानी वितरण भइरहेको छ तर अस्थायी रूपमा मात्रै पानी ल्याइएको हो। अहिलेदेखि नै ठूलो वर्षा हुन थालेको छ। त्यसो त पहिलाको घटना दोहोरिन नदिन पानी बन्द गर्ने छलफल चलेको छ।

मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले कहिलेबाट मेलम्ची खानेपानी बन्द गर्ने भन्नेबारे जल तथा मौसम विज्ञान विभागसँग छलफल भइरहेको जानकारी दिए।

‘मौसम स्थितिबारे विभागसँग छलफल गरिरहेका छौँ। अहिलेबाट नै पानी पर्न थालिसकेको छ। यो अस्थायी रूपमा मात्रै पानी ल्याइएको हो, अब यसरी नै पानी पर्दै गयो भने छिट्टै बन्द गछौँ,’ उनले थाहाखबरसँग भने। केही दिनदेखि परेको पानीले अहिलेसम्म केही क्षति नभएको उनले जानकारी दिए।

पानी बन्द गरेपछि फेरि उही समस्या दोहोरिने

अब फेरि वर्षातको समयमा मेलम्ची खानेपानी बन्द गरेपछि उपत्यकामा पानीको हाहाकार दोहोरिने भएको छ। केयुकेएलका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको माग छ।

मेलम्ची पानी नआउँदा र सुक्खा सिजनमा विभिन्न स्रोतबाट दैनिक १०/११ करोड लिटर मात्र आपूर्ति गर्न सकिएको छ। सरकारले मेलम्ची खानेपानी आयोजनाको दिगो पानी पथान्तरण गर्ने घोषणा गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची जलाधारको भौगोलिक र नदी आकृति विज्ञानको अध्ययन प्रतिवेदनका आधारमा दिगो पानी पथान्तरण गर्ने बताएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.