काठमाडौं : महेश काफ्लेको नयाँ गीत 'बर्को बेरेर' सार्वजनिक भएको छ। महेशको शब्द तथा संगीत र रचना रिमालको एकल आवाज रहेको गीत शनिबार महेशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
प्रेमीले आफ्नो लागि समय ननिकालेको भन्दै गुनासो गरिरहेकी प्रेमिकाको पक्षबाट गीत लेखिएको छ। समकालीन परिवेशमा सुहाउँदो शब्द चयन गरिएको उक्त गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन् भने मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्। त्यस्तै रत्न बिकेले मुरली बजाएका छन्। मनिष गन्धर्वले सारङ्गी बजाएका छन्।
गीतकार तथा संगीतकार महेशकै कन्सेप्टमा बनेको भिडियोको निर्देशन सुबोल थापाले गरेका हुन्। भिडियोमा दिया श्रेष्ठको मुख्य भूमिका रहेको छ। दीपक कोइराला र गीतकार महेशको पनि अभिनय रहेको छ।
एभरेस्ट फिल्म एकेडेमीको प्रस्तुती रहेको गीतको भिडियो छायांकन विकास सिटौलाले गरेका हुन्। सम्पादन सुनील शिवभक्तिको हो। महेशका 'नाच फिरिरी', 'माया बिरानी', 'लज्जावती झार' लगायतका गीत चर्चित छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।